२०८१ मंसिर ५ , बुधवार

आँबुखैरेनीको विकास र जनसरोकारका विषयमा प्रधानमन्त्री, सञ्चार र ऊर्जामन्त्रीको ध्यानाकर्षण      

PM Dahal
सुनाखरी न्युज/ काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिकाले यस क्षेत्रको विकास र जनसरोकारका विषयमा प्रधानमन्त्री र सञ्चार तथा सूचना प्रविधिमन्त्रीको ध्यानाकर्षण गराएको छ ।
गाउँपालिकाका अध्यक्ष शुक्र चुमानको नेतृत्वमा काठमाडौँ पुगेको जनप्रतिनिधिको टोलीले यस क्षेत्रको विकास र जनसरोकारका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माको ध्यानाकर्षण गराएको हो । अध्यक्ष चुमानले आँबुखैरेनी अस्पतालको औपचारिक उद्घाटनका लागि प्रधानमन्त्रीलाई निमन्त्रणा गरिएको जानकारी दिनुभयो । उक्त अस्पतालको मङ्सिर १ गते उद्घाटनको समय तय भएको उहाँको भनाइ छ । यस्तै आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरीमा मोवाइल नेटवर्कको समस्या रहेकाले तत्काल टावर थप गर्न सञ्चारमन्त्रीलाई प्रस्ताव पेश गरिएको छ । सो अवसरमा मन्त्री शर्माले तत्काल समाधान प्रक्रिया सुरु हुने प्रतिबद्धता जनाएको चुमानले जानकारी दिनुभयो ।
यस्तै आँबुखैरेनी सत्रसय खण्डमा ३३ केभी प्रसारण लाइनले पारेको असर र सोको समाधान गर्दा मुग्लिन पोखरा सडक योजनामै समेटेर गर्न ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत र विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको ध्यानाकर्षण गराइएको छ । रासस