२०८१ मंसिर १४ , शुक्रवार

शान्तिको खोज सधैँ मानवताको सर्वोच्च आकांक्षा भएको छ : प्रधानमन्त्री

PM Dahal

सुनाखरी न्युज/ काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्तिको खोज सधैँ मानवताको सर्वोच्च आकांक्षा भएको बताउनुभएको छ । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई आज गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा स्वागत गर्नुहुँदै प्रधानमन्त्री दाहालले देशको परिवर्तन र रूपान्तरणका लागि सङ्घर्षको नेतृत्व गर्ने नेताका रुपमा आफूले शान्ति र द्वन्द्वको मूल्य बुझेको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री दाहालले नेपालले शान्ति प्रक्रियालाई सफलता अघि बढाएको अवगत गराउँदै भन्नुभयो, “हाम्रो शान्ति प्रक्रिया समान परिस्थितिको सामना गरिरहेका देश र समाजका लागि राम्रो उदाहरण हुनसक्छ भन्ने हाम्रो विश्वास छ ।” अहिले आफूहरु शान्ति प्रक्रिया–सङ्क्रमणकालीन न्याय प्रणालीको बाँकी काम टुङग्याउनमा संलग्न रहेको उल्लेख गर्दै उहाँले आफ्नोे अन्तिम उद्देश्य देशमा दिगो शान्ति र सद्भाव सुनिश्चित गर्नुरहेको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले भन्भुभयो, “अहिले हामी जहाँ उभिरहेका छौँ, भगवान बुद्धको जन्मस्थल, बुद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थल मात्र होइन, शान्ति र सद्भावको केन्द्र हो जसले मानवजातिको शाश्वत र प्रबुद्ध शिक्षाको आधारमा व्यापक रूपमा प्रेरणा र मार्गदर्शन गरिरहन्छ ।”

उहाँले महासचिव गुटेरेसको लुम्बिनी भ्रमणको विशेष महत्व रहेको र यसले विश्वव्यापी रूपमा समान मूल्यको संरक्षण र प्रवद्र्धन गर्न खोज्ने संयुक्त राष्ट्रसङ्घको बडापत्रबीच अवस्थित सहजीवन सम्बन्धलाई सुदृढ पार्ने धारणा व्यक्त गर्नुभयो । सो अवसरमा उहाँले महासचिव गुटेरेसको विश्वव्यापी महत्वको ऐतिहासिकस्थलको भ्रमणको प्रशंसासमेत गर्नुभयो ।

प्रधानमन्त्री दाहालले लुम्बिनीको विकासमा संयुक्त राष्ट्रसङ्घ लामो समयदेखि संलग्न रहेको उल्लेख गर्दै सन् १९७२ मा जापानी वास्तुकार केन्जो टाङ्गेद्वारा युएनडिपीको सहयोगमा गुरुयोजना सुरू तयार भएको बताउनुभयो । सोही बेलादेखि संयुक्त राष्ट्रसङ्घले शान्ति र सद्भावको प्रवद्र्धन, तीर्थ र पर्यटनको एक प्रमुख केन्द्रको रूपमा लुम्बिनीको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उहाँको भनाइ थियो । सन् १९९७ मा संयुक्त राष्ट्रसङ्घले लुम्बिनीलाई विश्व सम्पदा क्षेत्र घोषणा गर्दै यसको ऐतिहासिक र सांस्कृतिक महत्वलाई विश्वव्यापी मञ्चमा मान्यता दिएको थियो ।

“शान्ति, सद्भाव र करुणा हाम्रा जन्मजात गुण हुन्, जुन हामीले शान्तिका धर्मदूत र नेपालका प्रबुद्ध पुत्र बुद्धबाट पाएका छौँ,” प्रधानमन्त्री दाहालले भन्नुभयो, “विविधतामा एकता नै हाम्रो शक्ति हो र सद्भाव र सहअस्तित्व नै हाम्रो संस्कृतिको आवश्यक तत्व हो । हामी “भवतु सर्व मङ्गलम्” र “वसुधैव कुटुम्बकम्”मा विश्वास गर्छौंँ । उहाँले पञ्चशीलका सिद्धान्त, असंलग्नता, संयुक्त राष्ट्रसङ्घको बडापत्र, अन्तर्राष्ट्रिय कानुन र विश्व शान्तिका मूल्यमान्यताले नेपालको परराष्ट्र नीतिलाई निरन्तरता दिइरहेको बताउनुभयो ।
रासस