सुनाखरी न्युज/ काठमाडौं । राष्ट्रिय विभूति भक्ति भापाले बालापनमा गाईवस्तु चराएको हर्सिङडाँडामा पछिल्लो समय पर्यटकको सङ्ख्या बढेको छ ।
लमजुङ मस्र्याङ्दी गाउँपालिका–३ हर्सिङडाँडासम्म पुग्ने बाटो राम्रो भएको र यसबारे प्रचार–प्रसार हुन थालेसँगै पर्यटकको वृद्धि हुन थालेको हो । विगतमा सुनसानजस्तै हुने यहाँ यतिबेला दैनिक ४० देखि एक सय जनासम्म पर्यटक आउने गरेको स्थानीय पर्यटन व्यवसायी पूर्णबहादुर गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “विगतमा ओझेलमा पर्दै आए पनि केही समयदेखि भने पर्यटक घुम्न तथा बास बस्ने गरेर आउने गरेका छन् ।” विस्तारै मौसम राम्रो हुँदै गएको र बाटोसमेत राम्रो भएकाले पर्यटक वृद्धि हुने स्थानीय सुरज गुरुङले बताउनुभयो ।
यस स्थानमा चार युवा मिलेर खाना र बस्नका लागि पूर्वाधार निर्माण गरेपछि पर्यटक आगमनमा बढेको हो । पूर्णबहादुर गुरुङ, सुमन गुरुङ, सुरज गुरुङ र इन्द्रबहादुर गुरुङ गरी चार जना युवा मिलेर रु ११ लाख लगानीमा खाना–बस्नका लागि ३५ जनासम्म अट्ने हल निर्माण गर्नुभएको छ । यहाँ आउने पर्यटकलाई अग्र्यानिक खानाखाजा दिने गरिएको छ । यस डाँडाबाट मस्र्याङ्दी गाउँपालिकाको पर्यटकीय गाउँ सिउरुङ, ढङ्गै, भुस्मे, घनपोखरालगायत अधिकांश ठाउँ घाउँ देखिन्छ । त्यस्तै दक्षिण एसियाकै नमूना घलेगाउँडाँडा, कल्मेडाँडा, बेँसीसहर बजार, मस्र्याङ्दी नदीको नागबेली, डा हर्क पिक हिमाल, मनास्लु रेन्स, बुद्ध हिमाललगायतका देख्न सकिन्छ । त्यस्तै तनहुँको बन्दीपुरडाँडासमेत देख्न सकिने पर्यटन व्यवसायीको भनाइ छ । यहाँ खाना बस्नका लागि एक रातको प्रतिव्यक्ति रु एक हजार लिने गरेको छ ।
यस डाँडामा राष्ट्रिय विभूति भक्ति थापाले बालापनमा गाईवस्तु चराएको स्थानीयको भनाइ छ । यसै वडामा विसं १८०२ मा खुदीको ढङ्गैबेसीमा जन्मिनुभएका भक्ति थापाको बाल्यकाल बितेको हर्सिङडाँडामा वस्तुभाउ चराउने, छेलो हान्ने गर्नुभएको थियो । हर्सिङडाँडामा गाईवस्तु चराउनुभएका भक्ति थापा विसं १९७१ मा नेपाल–अङ्ग्रेज युद्धको बखत नेपालका वरिष्ठ सैनिक हुनुहुन्थ्यो । उहाँ लमजुङ जिल्लाको पुँवर थापा परिवारमा जन्मनुभएको हो । उहाँ पहिले लमजुङका राजा केहरीनारायण शाहका सेनाका सरदार भएकाले लमजुङका तर्फबाट धेरैपटक युद्ध लडेको इतिहास छ ।
गोरखासँगको अन्तिम युद्धमा पराजित भई युद्धबन्दीका रूपमा काठमाडौँ पुगेको करिब एक वर्षपछि उहाँ नेपाली फौजका सरदार भई नेपाल एकीकरण अभियानमा संलग्न हुनुभएको थियो । विसं १८७८ मा ७३ वर्षको उमेरमा नेपाल अङ्ग्रेज युद्धमा देउथलको लडाइँको नेतृत्व उहाँले गर्नुभयो । देउथलमा अङ्ग्रेजविरुद्ध तरबारसहित तीन सय सेना लिएर युद्ध गरेका थापाको अङ्ग्रेजको गोली लागेर मृत्यु भएको थियो । अङ्ग्रेज सेनाले गोर्खाली सेनाको वीरताको कदर गर्दै थापाको शवमा दोसल्ला ओढाएर सम्मानका साथ अमरसिं थापालाई बुझाएको इतिहास छ । रासस