२०८१ मंसिर १३ , बिहिवार

सांसदको बोली राज्यले सुन्ने र जनताले पत्याउने खालको हुनुपर्छ : सांसद मिजार

Capture

सुनाखरी न्युज/ काठमाडौं । नेपाली कांग्रेसका सांसद सीता मिजारको प्रतिनिधिसभामा प्रवेशसँगै परिपक्वताका साथै संवेदनशीलरूपमा प्रस्तुत हुने गरेको अनुभव छ । पहिलोपटक सङ्घीय सांसद बन्नुभएका उहाँले बाहिर सडकमा विद्यार्थी र पार्टीको राजनीति गरेभन्दा संसदीय राजनीति भिन्न भएको बताउनुभयो ।

रासससँग कुरा गर्र्दै सांसद मिजारले भन्नुभयो, “संसदीय राजनीतिको अनुभव फरक रहेछ, विद्यार्थी राजनीति गरेको जस्तो होइन, जिम्मेवारीबोध धेरै हुने, बोल्दा पनि हरेक शब्द चयनमा संवेदनशील हुनुपर्ने । आमजनताले प्रत्यक्ष सुन्ने र हेर्ने भएकाले पनि यथार्थपरक र प्रमाणित कुरामात्र बोल्नुपर्ने रहेछ ।” विसं २०४४ असार ७ गते नुवाकोटमा जन्मनुभएका उहाँले विद्यार्थी राजनीतिमा सडकमा नारा लगाएजस्तो संसद्मा नहुने बताउनुभयो । सांसदको प्रस्तुति राज्यले सुन्ने र जनताले पत्याउने खालको हुनुपर्ने उहाँले सुझाउनुभयो ।

सोह्र वर्षको उमेरमै पद्मकन्या क्याम्पसमा नेपाल विद्यार्थी सङ्घको एकाइ सदस्य हुनुभएका सांसद मिजारले संसद्मा उठाएका विषय कार्यान्वयनका लागि निरन्तर सक्रियताका साथ लागिरहनुपर्ने उल्लेख गर्नुभयो । “संसद्मा बोलेका कुरा सुनुवाइ हुन्छन्, तर ‘फलोअप’ गर्नुपर्छ”, उहाँले भन्नुभयो, “कतिपय विषय दीर्घकालीनरूपमा लागू हुने र कानुन नभएका कारण पनि समय लाग्छ । अर्काे कुरा सत्तापक्षमा रहँदा बोल्ने पनि सीमा हुुन्छ ।”

आफूले युवा र दलित र अल्पसङ्ख्यक समुदायका मुद्दालाई सदैव प्राथमिकताका साथ उठाउने गरेको उल्लेख गर्दै सांसद मिजारले राज्यले भने यी मुद्दामा अझै प्राथमिकता दिन नसकेको गुनासो गर्नुभयो । सदनमा सांसदहरूले बोल्दा कतिपय अवस्थामा कुनै समुदाय र लैङ्गिक विशेषलाई चोट पुग्ने शब्द चयन गर्ने गरेको र बोल्दा सामान्य हेक्कासमेत नराख्ने गरेको उहाँको भनाइ छ ।

फरक प्रसङ्गमा सांसद मिजारले संसद्मा कुनै मुद्दा उठेपछि वा कुनै विधेयकका सम्बन्धमा सबै पार्टीका र स्वतन्त्र सांसदले अनिवार्य बोल्नैपर्ने, कतिपय अवस्थामा विषयवस्तुभन्दा बाहिर बोल्ने प्रचलनले गर्दा पनि संसदीय प्रक्रिया लम्बिने गरेको उल्लेख गर्नुभयो । “संसद्को लामो प्रक्रियाका कारण कानुन बन्न ढिलाइ हुने गरेको छ, यस्ता नियमित विषय संसदीय समितिमार्फत बृहत् छलफल गर्दा राम्रो हुन्छ”, उहाँले भन्नुभयो ।

साना विषयमा पनि विपक्षी दलले सदन अवरोध गर्ने र सरकारले पर्याप्त बिजनेस दिन नसकेकाले पनि सदनले पर्याप्त काम गर्न नसकेको उहाँको बुझाइ छ । आगामी दिनमा यसतर्फ राजनीतिक नेतृत्वले ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।

राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक गर्नुभएका उहाँले मुलुकका भ्रष्टाचारका प्रकरण र अनियमितताका विषयमा सत्य, तथ्य छानबिन गरी त्यसमा संलग्न दोषीलाई जो–केही भए पनि कारबाहीको दायरामा ल्याउन सबै दल एकजुट हुनुपर्ने सुझाव दिनुभयो ।

कांग्रेसको १२औँ महाधिवेशनदेखि निरन्तर पार्टीको महाधिवेशन प्रतिनिधि रहँदै आउनुभएका सांसद मिजारले भन्नुभयो, “सबै राजनीतिक नेतृत्व पार्टीगत धारणाभन्दा माथि उठेर मुलुकलाई समृद्धि बनाउनेतर्फ केन्द्रित हुनुपर्दछ । मुलुकको सार्वभौमसत्ता, राष्ट्रिय सुरक्षा, देश र जनताको समृद्धिमा सबै दल एक ठाउँमा उभिनैपर्छ ।”

सांसदको प्रमुख काम कानुन निर्माण भए पनि जनताको अपेक्षा र जनताबीच गरेका वाचा पूरा गर्न पनि सांसदले केही विकास निर्माणका काममा लाग्नुपर्ने बाध्यता रहेको उहाँको तर्क छ । नेविसङ्घको जिल्ला सदस्य हुँदै पद्मकन्या क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको सदस्य हुनुभएका उहाँसँग तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको निजी सचिवालयमा काम गरेको अनुभवसमेत छ ।

केही दलका सांसदले सदनमा सस्तो लोकप्रियताका लागि गर्ने ‘प्रोपोगाण्डा’का सन्दर्भमा सांसद मिजारले आन्दोलनका क्रममा माहोल बनाउन र जनता परिचालन गर्न बोलेको विषयसँग तुलना गर्दै गर्नुभयो । उहाँले संसद्को मर्यादाका लागि सांसदहरूले विषयवस्तुमा आधारित रहेर सन्दर्भ र यथार्थपरकरूपमा बोल्नुुपर्ने सुझाव दिनुभयो ।

विसं २०६२–६३ को आन्दोलनका घाइतेसमेत हुनुभएका उहाँले जनताका प्रतिनिधिको सर्वोच्च थलो संसद्मा अनुशासित र संयमित भएर सांसदहरूले छलफलमा भाग लिनुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले संसद्लाई प्रभावकारी बनाउन सांसदहरूले संयमरूपमा प्रस्तुत हुनुपर्ने, नैतिकवान बन्नुपर्ने र सरकारले पनि पर्याप्त बिजनेस र महत्व दिनुपर्ने सुझाव दिनुभयो । रासस