सुनाखरी न्युज/ काठमाडौं ।
धार्मिक पर्यटक भित्र्याउने उद्देश्यसहित गोरखाको सहिद लखन गाउँपालिका–३, मनकामनामा रहेको त्रिवेणी भगवतीको मन्दिर परिसरमा आज साँझदेखि त्रिवेणी मेला लाग्ने भएको छ । हरिबोधनी एकादशी(ठूलो एकादशी) पर्वको अवसरमा मन्दिर परिसरमा त्रिवेणी मेला आयोजना हुँदै आएको छ ।
स्थानीय कालिका युवा क्लबको आयोजनामा आज साँभmदेखि भोलि (बिहीबार) बिहानसम्म मेलाआयोजना गरिने क्लबका अध्यक्ष बाबु गुरुङले जानकारी दिनुभयो । स्थानीय धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा रहेको त्रिवेणी भगवतीको प्रचारप्रसारका लागि मेलाले सहयोग पुग्ने विश्वास लिइएको उहाँले बताउनुभयो ।
मेलामा विविध सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको अध्यक्ष गुरुङको भनाइ थियो । मेलामा चर्चित लोकदोहोरी गायक पृथ्वी गुरुङ, श्याम राना, सुजन गुरुङ चर्चित लोक तथा दोहोरी गायिका निर्जला गुरुङलगायत अन्य स्थानीय कलाकारको साङ्गितिक प्रस्तुति रहने जनाइएको छ ।
सोही अवसरमा भगवती मन्दिरमा विशेष पूजा गरी मेला समापन हुने बताइएको छ । उक्त मन्दिरमा हरेक वर्षको ठूलो एकादशीको अवसर पारेर भव्य मेला लाग्ने गर्दछ । प्रसिद्व मनकामना देवीको सात दिदीबहिनीमध्ये त्रिवेणी भगवती कान्छी बहिनी रहेको जनविश्वास रहदै आएको छ ।त्रिवेणी भगवतीलाई जल अर्पण गरेपछि मात्र मनकामना देवीको पूजाको पूर्णता हुने धार्मिक विश्वास रहेको छ ।
रासस