२०८१ मंसिर १४ , शुक्रवार

सिएरा लियोनको राजधानीस्थित हतियार भण्डारणमा हमला

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
सिएरा लियोनको राजधानी फ्रिटाउनस्थित एक सैन्य हतियार भण्डारणमा आइतबार हमला भएको छ । हमलापछि सरकारले तत्काल राष्ट्रिय कर्फ्यू घोषणा गरेको छ ।

हतियार भण्डारणमा छिर्ने प्रयास गर्नेहरूलाई भगाएको सरकारले बताएको छ । प्रत्यक्षदर्शीहरूले उनीहरूले सहरको विल्बरफोर्स जिल्लामा बन्दुकको गोली र विस्फोटहरूको आवाज सुनेको एएफपीलाई बताएका छन् ।

सूचना मन्त्रालयले एक विज्ञप्तिमार्फत ‘सरकार र हाम्रो राज्य सुरक्षा बल नियन्त्रणमा’ रहेको भन्दै जनतालाई आश्वस्त पारेको छ । “संदिग्धहरूलाई पक्रने जारी प्रक्रियामा सुरक्षा बलहरूलाई सक्षम बनाउनका लागि सम्पूर्ण देशमा तत्काल लागु हुने गरी राष्ट्रव्यापी कर्फ्यू घोषणा गरिएको छ ।”

विज्ञप्तिमा हमलाको कथित अपराधीहरू वा उनीहरूको उद्देश्यका बारेमा थप कुनै विवरण उल्लेख गरिएको छैन । पश्चिम अफ्रिकाको अङ्ग्रेजी भाषी मुलुक सिएरा लियोन यो वर्षको जुनमा राष्ट्रपति तथा आम निर्वाचनपछि राजनीतिक सङ्कटबाट गुज्रिरहेको छ । रासस/एएफपी