२०८१ मंसिर ८ , शनिवार

केरा खाने हैन ? बरफल्याङ आउनूस्

banana (1)

सुनाखरी न्युज/ काठमाडौँ ।
कुनै समय रोजगारीका गाउँमा काम खोज्दै हिड्ने नरबहादुर गजमेर केरा गोड्न व्यस्त देखिनुहुन्थ्यो । निर्वाहका लागि रोपेको कोदो मकैले वर्षमा तीन महिना पनि धान्न छोडेपछि गजमेरको रोजाइमा केरा खेती परेको हो । उहाँले तीन बिगाहमा केरा खेती गर्दै आउनु भएको बताउनुभयो । गजमेर जस्तै इलामको रोङ–२ का अधिकांश कृषिको मुख्य आयस्रोतका रुपमा केरा खेती रहेको छ ।

कुनै समय के खाऊँ के लाऊँ भन्ने पीरमा बाँच्ने रोङ–२ बरफल्याङका बासिन्दा अहिले केरा र सुपारी स्याहार्न व्यस्त देखिन्छन् । २०४५ सालतिर चाडपर्वमा खानका लागि रोपिएको केरा अहिले उनीहरुको गर्जो टार्ने गतिलो माध्यम बनेको छ । केही वर्षअघिसम्म सिँचाइ अभावमा जमिन बाँझै राख्ने इलामको रोङ–२ का स्थानीयको बारी अहिले कतै खाली छैन । स्थानीय किसान टङ्क अधिकारीले भन्नभयो, “२०४५ सालतिर बारीको डिलमा रोप्ने गरेको थियो । पछि राम्रो भएपछि बारीभित्र पनि सुपारी र केरा रोप्न थालिएको हो ।”

सुपारी र केरा बहुतल्ले खेतीका रुपमा रोप्ने गरेको अधिकारीले बताउनुभयो । केही वर्षदेखि बजारको समेत राम्रो सम्भावना हुन थालेपछि स्थानीयले केरा खेती व्यावसायिक रुपमै गर्न थालेका हुन् । हाल रोङ–२ को बरफ्ल्याङ, दूधे, बगैँचा, धनसार क्षेत्रका बासिन्दाले व्यावसायिक रुपमा केरा खेती गरिरहेका वडाध्यक्ष टेकबहादुर तामाङले बताउनुभयो । किसानले स्थानीय जातका लाल, भण्डारी, घीउ केरा र उन्नत जातको सिङ्गापुरिया केरा लगाएको किसान अधिकारी बताउनुभयो । केरासँगै बहुतले खेतीका रुपमा सुपारी खेतीसमेत गर्न सकिने भएपछि सबै बारीमा केरा र सुपारी रोपेको कृषक रामचन्द्र दाहालले बताउनुभयो ।

किन्नका लागि व्यापारी घरघरमा आउने गरेकाले बजारको कुनै समस्या नभएको किसान मनोज दाहालले बताउनुभयो । किसानले उत्पादन गरेको केरा खरिद गर्न व्यापारी बारीमै पुग्छन् । व्यापारीले प्रतिघरी रु एक सयदेखि तीन सय ५०सम्ममा किन्ने गरेको किसान नथुनीदास चौधरीले बताउनुभयो । चौधरीले भन्नुभयो, “लगभग तीन बिगाहामा केरा र सुपारी लगाएको छु, घर चलाउन मज्जाले पुगेको छ । केरामा अरू ठूलो रोग नदेखिए पनि गबारो र बर्खाको समयमा छिर्का बस्ने समस्या देखिने गरेको किसान कर्ण खड्काले बताउनुभयो ।

प्रशस्त मात्रामा केराको खेती रहेको सो क्षेत्रमा यसअघि केराको फल र पातको घाँसका रुपमा मात्र प्रयोग गरिने गरेको भए पनि अहिले केराको पात, जरा, गाना, फल, बुङ्गो र कोसाको भेट्नोबाट ५० भन्दा बढी परिकार बनाउनका लागि तालिम सञ्चालन गरेको वडाध्यक्ष तामाङले बताउनुभयो । केराबाट तरकारी, अचार, समोसा मःम, चिप्स, निम्की, पकौडा, चप, मिटबल, जुस, वाइन, ब्राण्डी, रोटीलगायत चारदर्जन बढी परिकार बनाउन सकिने स्थानीय कृषकले बताएका छन् ।

विशेष गरेर केराको पकेट क्षेत्र रहेको रोङ गाउँपालिका–२ मा जिल्लामै सबैभन्दा बढी केरा उत्पादन हुन्छ । यहाँ तीन सयभन्दा बढी कृषकले व्यावसायिक रूपमा केरा खेती गर्दै आएका छन् । उनीहरुले न्यूनतम तीन रोपनीदेखि तीन बिगाहा क्षेत्रमा केरा लगाएका छन् । किसानले सुपारी र केराबाट प्रतिकट्ठा वार्षिक रु ५० हजारसम्म आम्दानी गर्ने गरेका छन् । स्थानीयले केराका विभिन्न परिकार उत्पादन गरी स्थानीय क्षेत्रबाट बिक्रीसमेत गर्न थालेका छन् । स्थानीयले उत्पादन गरेको केरा झापाको शनिश्चरे, बिर्तामोड हुँदै राजधानी काठमाडौँसम्म पुग्ने गरेको छ । शम्भु दाहाल / रासस