सुनाखरी न्युज/ काठमाडौं ।
न ठूलो पुँजी, न त कुनै ठूलो व्यवसाय । तर पनि वीरगञ्ज महानगरपालिका रानीघाट निवासी रमेश साह सोनार राम्रो आम्दानी कमाई रहनुभएको छ । उहाँको कमाईको स्रोत कुनै जागिर वा अन्य व्यवसाय नभई आयुर्वेदिक जुस बनाएर बेच्ने पेशा हो । वीरगञ्ज महानगरक्षेत्र आयुर्वेदिक जुसवालाका रुपमा परिचित ४८ वर्षीय सोनार यहाँस्थित घडिअर्वा पोखरीको डिलमा हरेक दिन बिहान आयुर्वेदिक जुस बनाएर बिक्री गरी राम्रो आम्दानी गर्दै आउनुभएको छ ।
युट्युब च्यानलहरुबाट जैविक तरकारी र फलफूलबाट जुस बनाउने तरिका सिक्नुभएका उहाँ जैविक तरकारी, सागपात र जडीबुटी मिसाएर आफैँ तयार पारेको जुस बेचेरै आफ्नो ६ जनाको परिवार मात्रै पाल्दै आउनुभएको छ ।गरिबी र परिवारिक कारणले आफूले राम्ररी पढ्न नपाए पनि छोरा छोरीलाई राम्रो शिक्षा दिलाएर ठूलो मान्छे बनाउने सोच बनाई सक्नुभएको छ उहाँले । विगत एक वर्षदेखि घडिअर्वा पोखरीको डिलमा आयुर्वेद ज्ुसको व्यवसायी गर्दै आउनुभएका उहाँले धेरै स्थानीयहरुको मन जित्न सफल हुनुभएको छ ।
लौका, तीते करेला, गाजर, धनियाँ पात, पुदिनालगायत २५ प्रकार आयुर्वेदयुक्त तरकारी, सागपात र फलफूल मिसाएर तयारी गरिने आयुर्वेद जुसप्रति स्थानीयको आकर्षण बढ्दै गएको छ । त्यही जुस बेचेर उहाँले दैनिक एक हजार पाँच सयदेखि रु दुई हजार सम्म कमाई हुँदै आएको उहाँले बताउनुभयो ।“एक कप जुसको रु २० लिन्छु, दिनमा ८० देखि एक सय कपसम्म जुस बिक्री भइहाल्छ छ”, उहाँले भन्नुभयो, “सुरु सुरुमा कमै बिक्री हुन्थ्यो, अहिले ग्राहकहरु बढ्दै गएकाले राम्रै कमाई हुन्छ ।” स्वास्थ्यको दृष्टिकोणले समेत उपयुक्त मानिने आयुर्वेद जुसको माग बढ्दै गएको उहाँको कथन छ ।
थोरै लगानीबाट सुरु गरेको व्यवसायीबाट राम्रो आम्दानी भइरहेकाले कमाउनका लागि मजदुरी गर्न अन्यत्र जानुपर्ने उहाँको बाध्यता हटेको छ । “जुस बेचेर थोरै बचत गरेर राखेको छु,” उहाँ भन्नुहुन्छ, “अब वीरगञ्जको कुनै ठाउँमा सटर भाडामा लिएर अझै ठूलो जुस पसल खोल्ने तयारीमा छु ।” “मजदुरी गर्दा थुप्रै समस्या हुन्छ, अरूको अधीनमा बसेर काम गर्नुपर्दा मन खिन्न लाग्थ्यो”, उहाँले भन्नुभयो, “अहिले आफ्नो घुमफिरको व्यापार छ, स्वतन्त्र रुपमा जति मिहिनेत गर्छु त्यो हिसाबले आम्दानी हुन्छ अहिले ढुक्क छु ।”
‘थोरै कमाऊ तर देशमै बसेर मिहिनेत गरेर कमाऊ’ भन्ने सोच भएर आफू विदेश नगएर स्वदेशमै कम लगानीमा राम्रो आम्दानी गर्दैछु, यसबाट आफू र आफ्ना परिवारका सदस्यहरु सन्तुष्ट छ, उहाँको भनाइ छ ।विदेशमा गएर कडा मिहिनेत पनि गर्नु, र दुःख पनि झेल्नुभन्दा परिवारका सदस्यहरुसँगै बसेर कमाउनुको मज्जा बेग्लै छ, त्यसमा पनि स्वदेशमै बसेर राम्रो आम्दानी हुन थालेपछि किन् विदेश जानु ? उहाँ प्रश्न गर्नुहुन्छ ।
ग्यास्टिक, मधुमेह, उच्च रक्तचाप, मुटु, मिर्गाैलालगायतल बिरामीहरुका लागि अत्यन्तै फाइदाजनक हुने भएकाले आफूले बनाउने आयुर्वेद जुसप्रति धेरैको आकर्षण बढेको उहाँको भनाइ छ ।स्वास्थ्यको दृष्टिकोणले पनि उपयुक्त हुने भएकाले पछिल्लो समय धेरैको आकर्षण आयुर्वेद जुसप्रति बढेकाले उहाँको व्यापार फस्टाएको स्थानीय शङ्कर कानुको बुझाइ छ ।
वीरगञ्जका स्थानीय व्यापारी कृष्ण साह भन्नुभयो, “सोनारले बाबा रामदेवको सिकाए जस्तै आयुर्वेदिक सामग्री हालेर बनाइने जुसले विहान घडिअर्वा पोखरीमा घुम्न आउनेको आकर्षण बढ्ेको त छ नै अन्य व्यक्तिहरुको पनि आकर्षण बढ्दै गएको छ ।” खान स्वादिष्ट र स्वास्थ्यको दृष्टिकोणले समेत राम्रो हुने भएकाले धेरैले उहाँकै जुस खानलाई मन पराउँने जनाइएको छ ।
केही वर्षयता विदेश जाने युवाहरुको लर्काे नै लग्ने गरेका बेला उहाँले स्वदेशमै बसेर कम लगानी राम्रो आम्दानी गर्न सकिन्छ भने उदाहरणसमेत प्रस्तुत गर्नुभएको छ । बढी पैसा कमाउने लोभमा विदेश पलायन हुने युवाले उहाँबाट पाठ सिकेर स्वादेशमै कमाउने बाटो खोज्नु जरुरी रहेको नागरिक समाजका प्रदीप ठाकुर बताउनुभयो । रासस