२०८१ मंसिर १० , सोमवार

एडिबीद्वारा इन्डोनेसियाको बाढी व्यवस्थापनका लागि ऋण स्वीकृत

dollar

सुनाखरी न्युज/ काठमाडौं ।
एसियाली विकास बैङ्क (एडिबी) ले इन्डोनेसियाको बाढी व्यवस्थापन क्षमतामा सुधार गर्नका लागि २५ करोड अमेरिकी डलर ऋण सहयोग गरेको बुधबार जनाएको छ ।

वित्तीय परियोजनाले जाभा टापुको उत्तरी तटीय क्षेत्रमा बाढीको जोखिमलाई कम गर्न र स्थानीय समुदायको सामाजिक आर्थिक विकासलाई सुदृढ बनाउन सहयोग गर्ने मनिलास्थित बैंकले जनाएको छ ।

तल्लो क्षेत्रमा बढ्दो जनसङ्ख्या र सम्पत्तिका साथै रणनीतिक आर्थिक करिडोरका रूपमा रहेको इन्डोनेसियाको जाभा टापुको उत्तरी तटीय क्षेत्र बाढी र जलवायु परिवर्तनको दृष्टिकोणले अत्यन्त संवेदनशील रहेको एडिबीले बताएको छ ।

उक्त परियोजनाको लक्ष्य पश्चिम जाभा र मध्य जाभामा सिमानुक–सिसाङ्गारङ नदी बेसिन क्षेत्रमा बाढीको जोखिम व्यवस्थापनलाई कार्यान्वयन गर्नु रहेको छ । यसबाट चार लाख ८५ हजार मानिसलाई बाढीको जोखिम कम गर्न सहयोग पुग्नेछ ।

परियोजनाले जाकर्तालाई पूर्वी जाभासँग जोड्ने मुख्य सडकमा बाढीको जोखिम र यातायात व्यवधानका कारण आर्थिक केन्द्रहरूको जोखिमलाई कम गर्न सहयोग गर्ने पनि बैंकले उल्लेख गरेको छ । यसबाट अन्ततः स्थानीय र राष्ट्रिय अर्थतन्त्रमा फाइदा पुग्ने बैंकको भनाइ छ । रासस/सिन्ह्वा