सुनाखरी न्युज/ , जनकपुरधाम ।
विवाहपञ्चमीको चौथो दिन आज तिल्कोत्सव मनाइँदै छ । तिल्कोत्सवमा जानकी मन्दिरबाट कोसेली लिएर साधुसन्तहरु जनकपुरकै राम मन्दिरमा पुगेर तिल्कोत्सव मनाइन्छ ।
तिल्कोत्सवलाई मैथिलीमा छेका भनिन्छ । विवाह हुनु अघि बेहुली पक्ष दहीचुरा, खिरपुरी, विभिन्न मिठाई, फलफूल, लत्ताकपडासहित बेहुला अर्थात बरको घरमा पुगेर दिन्छन् । त्यसलाई भार (कोसेली) भन्छन् । भार पुर्याएपछि बेहुला र बेहुली पक्षबीच टिकाटालो हुन्छ ।
भोलि पाँचौ दिन शनिबार मटकोर तथा आइतबार सीता–रामको विवाह र सोमबार रामकलेवा गरी विवाहपञ्चमी महोत्सव सम्पन्न हुने छ ।
सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको तेस्रो दिन बिहीबार जानकी मन्दिरमा धनुष यज्ञ मनाइएको थियो । धनुष यज्ञ अवलोकन गर्न बिहीबार बेलुकी जानकी मन्दिरमा सयौंको संख्यामा साधुसन्त तथा दर्शनार्थी भेला भएका थिए ।