सुनाखरी न्युज/ काठमाडौं ।
राष्ट्रिय सभा सदस्य निर्वाचनमा सहभागी हुन १२ वटा राजनीतिक दलले आवेदन दिएका छन् । निर्वाचन आयोगले निर्वाचनमा भाग लिन चाहने दलहरुबाट कागजातसहित आवेदन माग गरेकोमा अन्तिम दिन शुक्रबारसम्म प्रदेश र स्थानीय तहमा जनप्रतिनिधि नरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाहेक संसद्मा प्रतिनिधित्व गर्ने १२ वटा राजनीतिक दलले आवेदन दिएका छन् ।
अब प्राप्त आवेदनहरु रुजु गरी आयोगले निर्वाचनमा भाग लिन दर्ता भएका दलहरुको सूची सार्वजनिक गर्नेछ । राष्ट्रिय सभा सदस्य निर्वाचनमा भाग लिन आवेदन दिनेहरुमा जनमत पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी, नेपाल मजदुर किसान पार्टी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा रहेका छन् ।
त्यस्तै, नेपाल समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेपाली कांग्रेसले पनि राष्ट्रिय सभा सदस्य निर्वाचनमा भाग लिन आवेदन दिएका छन् । आयोगमा सबैभन्दा पहिले जनमतले दल दर्ताकालागि आवेदन दिएको थियो भने नेपाली कांग्रेसले शुक्रबार सबैभन्दा ढिला गरी दल दर्ता गराएको थियो ।
राष्ट्रिय सभाका २० जना सदस्यहरुको पदावधि आगामी फागुन २० गते सकिदैछ । पद रिक्त हुनुभन्दा ३५ दिन अगावै निर्वाचन गरिसक्नुपर्ने कानुनी व्यवस्थाबमोजिम आयोगले माघ ११ गते निर्वाचन गर्न लागेको हो ।