सुनाखरी न्युज/ काठमाडौं ।
अमेरिकी रक्षामन्त्री लोयड अस्टिन मूत्राशयसम्बन्धी समस्याको उपचारका लागि दुई दिनको अस्पताल बसाइपछि मङ्गलबार अस्पतालबाट घर फिर्ता (डिस्चार्ज) हुनुभएको पेन्टागनले जनाएको छ ।
अस्टिनलाई उत्तरी वासिङ्टन डिसीस्थित वाल्टर रिड नेसनल मिलिटरी मेडिकल सेन्टरबाट अपराह्न डिस्चार्ज गरिएको छ। उहाँले आफ्नो सम्पूर्ण जिम्मेवारी सम्हाल्न पुनः सुरु गरेको पेन्टागनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।सन् २०२३ को डिसेम्बरमा अस्टिनले गरेको प्रोस्टेट क्यान्सरको शल्यक्रियासँग मूत्राशयको समस्या सम्बन्धित थियो तर यो उहाँको क्यान्सर निदानसँग सम्बन्धित थिएन ।
पेन्टागनका प्रेस सेक्रेटरी प्याट राइडर र वाल्टर रीडका अधिकारीहरूले जारी गरेको विज्ञप्तिमा अस्टिनलाई आइतबार दिउँसो वाल्टर रीड लगिएको र त्यस दिन राति नै सघन उपचार कक्षमा भर्ना गरिएको उल्लेख छ ।अस्पतालमा रहँदा अस्टिनले रक्षामन्त्रीको कार्यालयको काम र कर्तव्य उपरक्षामन्त्री क्याथलीन हिक्सले सम्हाल्नुभएको थियो । रासस/एएफपी