२०८१ मंसिर ८ , शनिवार

धुलो दूधको माग घटेपछि ‘डेरी’ सञ्चालनमा समस्या

milk

सुनाखरी न्युज/ काठमाडौं ।

झापामा दूध तथा दुग्धजन्य सामग्री उत्पादन एवं बिक्री ९डेरी सञ्चालन० गर्दै आएकाहरूले स्वदेशमा उत्पादन भएको धुलो दूधको माग घटेपछि व्यवसाय सञ्चालनमा समस्या भएको गुनासो गरेका छन् । स्थानीय किसानले उत्पादन गर्दै आएको गाईभैँसीको दूध सङ्कलन गरी बजारीकरण गर्दै आएका साना तथा मझौला डेरी व्यवसायीले किसानलाई भुक्तानी दिननसक्ने अवस्थामा आफूहरू पुगेको दुखेसो पनि गरेका छन् ।

 

विगत चार वर्षअघिदेखि झापाको दमक–१० सेतुमारीमा डेरी सञ्चालन गर्दै आएका व्यवसायी विदुर भण्डारीले पछिल्ला केही दिनयता डेरी व्यवसायीले स्थानीयस्तरमा सङ्कलन गरेको दूधको भुक्तानी किसानलाई दिन कठिन भएको राससलाई बताउनुभयो । उहाँको डेरीले आबद्ध दुई सय साना किसानबाट गाईभैँसीको पाँच सय लिटर दूध दैनिक सङ्कलन गर्दै आएको छ तर बजारबाट भुक्तानी नहुँदा समस्या भएको व्यवसायी भण्डारीले बताउनुभयो ।

 

उहाँका अनुसार डेरीमा सङ्कलन भएको दूध दमक बजारका साथै पोखराको सुजल डेरीले खरिद गर्दै आएको छ । तर केही दिनयता उक्त डेरीले बजारमा धुलो दूध बिक्री गर्न नसकेको भन्दै भुक्तानी नदिएपछि किसानलाई पशुआहाराको रूपमा प्रयोग गर्दै आएको दाना, चोकरसमेत दिन नसक्ने अवस्थामा डेरी सञ्चालक पुगेका छन् ।

 

केही समय अघिमात्र दूधको मूल्यमा केही वृद्धि हुँदा निकै उत्साहित देखिएका किसान अहिले समयमा नै दूधको भुक्तानी पाउन नसक्दा निराश हुनुपरेको दमक–१० का गाईपालक किसान नवराज न्यौपानेले बताउनुभयो । दुग्ध डेरी अहिले दूधका साथै दही, घिउ, पनिरलगायत दुग्धजन्य वस्तु उत्पादन तथा बिक्री गर्दै आएको छ ।

 

नेपाली बजारमा भारतीय उत्पादनले निकै प्रभाव जमाउँदै आइरहेको समयमा दूधको बजारमा पनि समस्या आएको व्यवसायीहरू बताउँछन् । भारतीय उत्पादनको लागत मूल्य कम हुनु र नेपाली उत्पादनको लागत मूल्य बढी भएकाले दूधको बजारमा समस्या भएको उनीहरूको बुझाइ छ । रासस