२०८१ मंसिर १ , शनिवार

‘रङ्गेली’ मा दया र मिरुना

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको जोडी एकपछि अर्को चलचित्रमा देखिन थालेको छ । गत वैशाख १ गते प्रदर्शनमा आएको चलचित्र ‘जारी’ पश्चात यो जोडीले ‘नाङ्गो गाउँ’, ‘रङ्गेली’, ‘घर ज्वाइँ’, ‘अञ्जिला’लगायतका चलचित्रमा काम गरिसकेको छ ।

उहाँ दुवैले अभिनय गर्नुभएको ‘रङ्गेली’ आउँदो यही फागुन २५ गतेदेखि प्रदर्शन हुँदैछ । “हाम्रो जोडीलाई दर्शक र निर्माता निर्देशकले रुचाउनुभएकै कारण चलचित्रमा अभिनयको प्रस्ताव आइरहेका छन् । सोही कारण सुहाउँदो भूमिकालाई स्वीकार गरेर चलचित्रमा काम गरिरहेका छौँ”, अभिनेता दयाहाङ राईले भन्नुभयो ।

अभिनेता राई पछिल्लो व्यस्त अभिनेतामा पर्नुहुन्छ । यस वर्ष मात्र उहाँले दशभन्दा बढी चलचित्रमा अभिनय गरिसक्नुभएको छ । सोही कारण पनि उहाँको चरित्र उस्तै देखिने गरेको गुनासो बढ्ने गर्छ । अभिनेता राई पनि यस विषयमा जानकार हुनुहुन्छ । “चलचित्र रङ्गेलीमा मेरो भूमिका अघिल्लाभन्दा फरक छ । यस चलचित्रमा नायक र खलनायक दुवै भूमिकामा मलाई देख्नसक्नुहुनेछ”, उहाँले भन्नुभयो, “सामान्य मान्छे कसरी असामान्य हुँदै जान्छ भन्ने चरित्र छ ।” उहाँले यसमा एक आपाराधिक समूहको नेतृत्वकर्ताको भूमिका निर्वाह गर्नुभएको छ । उहाँले धेरै समय पश्चात यस किसिमको भूमिका निर्वाह गरेको बताउनुभयो ।

“पैसा र शक्तिले एक सामान्य व्यक्तिको जीवनमा पार्ने प्रभाव र त्यसले निम्त्याउने घटनाक्रमले क्षणिक लाभ र दीर्घकालीन असरलाई मेरो पात्रले देखाउने प्रयास गरेको छ”, अभिनेता राईले भन्नुभयो ।अभिनेत्री मगरले यस चलचित्रमा थारु समुदायकी युवतीको भूमिका निर्वाह गर्नुभएको छ । “मेरो चलचित्र यात्राकै एक सशक्त भूमिका यसमा निर्वाह गरेकी छु । किनकि यसमा मेरो भूमिका नाचगानमा मात्र सीमित छैन । “चलचित्रमा नायिकको भूमिका पनि बलियो छ”, अभिनेत्री मगरले भन्नुभयो ।

अर्जुन सुवेदीले लेखन तथा निर्देशन रहेको चलचित्रमा अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताललगायतले पनि अभिनय गर्नुभएको छ ।  रासस