सुनाखरी न्युज/ काठमाडौँ ।
तीन पटक पाकिस्तानको प्रधानमन्त्री भइसकेका नवाज सरिफका दुवै छोराले पनामा पेपर्ससँग सम्बन्धित भ्रष्टाचारका तीन वटा मुद्दामा पक्राउ पुर्जी निलम्बन गर्न माग गर्दै आफ्ना वकिलमार्फत् जवाफदेही अदालतमा पुनरावेदन गरेका छन् ।हुसेन नवाज र हसन नवाजले आफ्ना वकिल काजी मिस्बाहुल हसनमार्फत इस्लामाबादको जवाफदेही अदालतमा एभेनफिल्ड अपार्टमेन्ट, अल अजिजिया र फ्ल्यागसिप इन्भेस्टमेन्ट रेफरेन्समा जारी गरिएको गिरफ्तारी वारेन्ट निलम्बन गर्न माग गर्दै निवेदन दिनुभएको हो ।
न्यायाधीश नासिर जावेद राणाले नवाजद्वयको निवेदनमाथि सुनुवाइ गर्नुभएको छ । अधिवक्ता काजी मिस्बाहले न्यायाधीशलाई नवाजद्वयको तर्फबाट गराएको जानकारीमा उनीहरू क्रमशः साउदी अरब र बेलायतका बासिन्दा रहेका र उनीहरूलाई पीएमएल–एन प्रमुख नवाज शरीफ, छोरी मरियम नवाज र सेवानिवृत्त क्याप्टेन सफदरको साथ पनामा पेपर्ससँग सम्बन्धित भ्रष्टाचारका तीन वटा मुद्दामा आरोपित गरिएको उल्लेख छ ।
उनीहरू दुवै पाकिस्तानमा नरहेका समय उनीहरूविरूद्धको सुनुवाई सुरु भएको, उनीहरू औपचारिक कानुनी प्रक्रियाको बारेमा अनभिज्ञ रहेका र राज्यले गिरफ्तारी सूचना र अन्य घोषणाहरू जारी गर्नेजस्ता कानूनी प्रक्रियाको सेवा गर्न उचित बाटोसमेत नअपनाएको अधिवक्ता मिस्बाहले दावी गर्नुभएको छ ।
अदालतसमक्ष आत्मसमर्पण गर्ने तयारी
अभियुक्त द्वयले अब अदालतमा आत्मसमर्पण गर्ने निर्णय गरेका छन् । वकिलका अनुसार पूर्वप्रधानमन्त्रीका दुवै छोरा मार्च १२ मा इस्लामाबाद पुग्नेछन् । उनीहरू आत्मसमर्पण गर्न अदालत पुग्न सकून भनी दुबैले अदालतलाई आफ्नो पक्राउ पूर्जी निलम्बन गर्न वकिलमार्फत् अनुरोध गरेका छन् ।
विशेष गरी नवाज सरिफ र उहाँकी छोरी मरियम नवाज दुवैलाई अघिल्लो आम निर्वाचनको केही दिन अघि एभेनफिल्ड रेफरेन्समा दोषी ठहर गरिएको थियो । पीएमएल–एन प्रमुखलाई डिसेम्बर २०१८ मा अल–अजिजिया सन्दर्भको मामलामा पनि दोषी ठहर गरिएको थियो तर फ्ल्यागशिप इन्भेस्टमेन्ट सन्दर्भमा निर्दोष ठहर गरिएको थियो ।
नवाज, मरियम र उहाँका पति अवकाशप्राप्त क्याप्टेन सफदरले एभेनफिल्डको मुद्दामा आफ्नो सजायलाई राजनीतिक पूर्वाग्रहबाट प्रेरित भन्दै इस्लामाबाद उच्च अदालतमा पुनरावेदन गरेका थिए । तीन पटक पाकिस्तानको प्रधानमन्त्री भइसकेका नवाजले अल अजिजियाको सन्दर्भमा पनि दोषी ठहर गरिनु न्यायसङ्गत निर्णय नभएको दावी गर्नुभएको थियो ।त्यसपछि, पूर्वप्रधानमन्त्री सरिफ विदेश गएर नफर्केपछि इस्लामाबाद उच्च अदालतले उहाँलाई ‘भगोडा अपराधी’ घोषणा गरेको थियो ।
उहाँ बेलायतमा रहँदा मरियम र सफदरले यो मुद्दा अघि बढाइयो र इस्लामाबाद उच्च अदालतले अन्ततः उनीहरूको सजायँलाई खारेज गरिदिएको थियो ।गत वर्षको अक्टोबरमा पूर्वप्रधानमन्त्री सरिफ पाकिस्तान फर्किनुभएको थियो । उहाँले आफूलाई दोषी ठहराइएका मुद्दामा पुनरावेदन गर्नुभएको थियो । आईएचसीले उहाँको निवेदनमाथि सुनुवाई गर्दै दुवै मुद्दामा उहाँको सजायलाई खारेज गरिदिएको थियो । रासस/एएफपी