२०८१ मंसिर ५ , बुधवार

‘मिथिला पेन्टिङ, घुम्टोदेखि अमेरिकासम्म’

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

विसं २०४३ तिरको कुरा थियो । मधेसको बन्द समाज । महिलाहरूलाई घरको चौघेरा नाघेर बाहिर निस्किन सजिलो थिएन । समाजका मूल्यमान्यता, परिवारका इज्जत प्रतिष्ठाका भारी सकिनसकी बोकेर हुर्किंदै हुनुहुन्थ्यो जनकपुरधामकी मञ्जुला ठाकुर । खुसी के हो ? समाज के हो ? जिम्मेवारी के हो ? भनेर प्रष्ट छुट्याउन सक्ने अवस्थै बनेको थिएन । त्यहीँबेला १२ वर्षकै उमेरमा उहाँको विवाह भयो । समय त्यस्तै थियो, कलिलो काँधमा असाधारण जिम्मेवारीको भारी थपिएपछि सकिनसकी माइतीको इज्जत र पोइलीघरको जिम्मेवारी धान्नैपर्ने भयो ।

“कलिलै उमेरमा जिम्मेवारी थपियो । जानेको केही थिइनँ । त्यो समय र आफ्नो जीवन नै बोझ लाग्दै थियो । के गर्ने, के नगर्ने छुट्याउने उमेर पनि त भएको थिएन नि ! तर पनि बाँच्नु त प¥यो”, उहाँले त्यो समय सम्झिँदै भन्नुभयो ।

मञ्जुलको उमङ्गविहीन त्यो समयलाई रङ्गिन बनाउन आमाले सिकाइदिएको ‘पेन्टिङ् कला’ रङ भर्ने माध्यम बन्यो । जीवनमा रङ भर्ने माध्यम मात्रै बनेन स्वावलम्बनको आधार र घरमा बसेर आश्रित जीवन बाँचिरहेका अरु नारीहरूलाई सङ्गठित गर्ने आधार पनि बन्यो । २०४८ सालको समय हुँदो हो, महिना त ठ्याक्कै भन्न सक्नुभएन उहाँले । अर्धघुम्टोमा घरको चौघेरा नाघेर निस्किएको वर्ष थियो त्यो ।

“केही समय घरमै बसेर आफ्नो कलालाई निखारँे । पछि २०४८ सालतिर घरबाट समाजमा निस्किएँ । त्यो बेला महिलालाई घरबाट निस्किनै समस्या थियो । मलाई पनि सुरुमा त्यस्तै भयो । तर हिम्मत हारिन । बिहे, चाडपर्वको बेला घरघरमा गएर वाल पेन्टिङ् गर्न थाल्यौँ”, मञ्जुलाले त्यो समय सम्झिनुभयो,“सुरुमा गाहे भयो । गाउँघरको मान्छे कुरा काट्थे । कता जान्छ ? के गर्छ ? अरुसँग किन हिँड्छ ? जस्ता अनेक लाञ्छनासहितका प्रश्नले उडाउँथे । तर त्यसको कुनै प्रवाह गरिनँ”, उहाँले सुनाउनुभयो ।

समय परिवर्तन हुँदै गयो । काम गर्दै जाँदा पैसा आउन थाल्यो । आयआर्जन भएपछि घरका समस्याहरू टार्न सहज भयो । गृहिणीको पहिचान कलाकर्मीमा बदलियो । त्यसपछि परिवारबाट समेत थप साथ पाउन थाल्नुभयो उहाँले । त्यसपछि त मञ्जुलाको समय, दिनचर्या नै बदलियो । अर्थोपार्जन भयो । समाजको भरोसा थपियो । अर्धघुम्टो पूरै उघार्ने अवस्था बन्यो ।

मञ्जुला भन्नुहुन्छ, “मैले आफू मात्रै होइन, घरघरमा सीमित रहेका र घुम्टोसमेत उघार्न नचाहने महिलाहरूलाई आफ्नो अभियानमा जोड्न भूमिका खेले, जसका कारण अरु थुप्रै दिदीबहिनीलाई आर्थिक रूपले सबल बनाउन निकै सहयोग पुगेको छ । आर्थिक रूपले सबल हुनु भनेको महिलाको आत्मसम्मान र प्रतिष्ठासमेत बढ्नु हो नि !”

कुनैबेला यस्तो समय आयो कि मञ्जुलालाई भ्याइनभ्याई भयो । आफ्नै समाजका चौकचौतारा, बजार, गल्लीहरूमा जानसमेत नपाउने जनकपुरकी एक महिला मञ्जुला पाँच पटक त धेरैले सपनाको देश भनिने अमेरिका पुग्नुभयो । त्यो क्षण सम्झिँदै उहाँ भन्नुहुन्छ,“त्यसबेलाको मधेशी समाजकी एउटा बुहारी, छोरी, श्रीमती, दिदीबहिनीलाई हेर्ने दृष्टिकोण सम्झिदा पनि नमीठो लाग्छ । मैले संस्कारको नाममा छोपिएको घुम्टो उघार्ने हिम्मत नगरेको भए आज यहाँ पुग्थिन होला । घुम्टोदेखि अमेरिकासम्मको त्यो चक्र सम्झिदा रोमाञ्चित पनि हुन्छु र दुःखी पनि । अहिलेको नयाँ पुस्ताका छोरी बुहारीलाई त धेरै सहज छ । अब उहाँहरू अगाडि आउनुपर्छ । त्यसमा सरकारले पनि सहयोग गर्नुपर्छ ।”

मञ्जुलाको कुरा सुन्दा २६ वर्षअघिको मधेशको मुस्लिम समाजको याद आउँछ । त्यसमा पनि श्रीमान गुमाएकी एउटा नारीको अवस्था । तर त्यसलाई चिरेर अगाडि बढ्नुभयो जनकपुरधाम उपमहानगरपालिका—४ शान्तिनगरकी मुन्नी खातुन । छ छोरी र एक छोराकी आमा मुन्निको जीवनमा एकाएक बज्रपात भयो । २७ वर्षअघि श्रीमान बित्नुभयो ।

एक्लो ज्यान भए त जेनतेन जीवन चल्थ्यो होला तर उहाँमाथि ती सबै लालाबालाको पालनपोषण गर्ने जिम्मेवारी आइलाग्यो । विकल्पहरू केही थिएनन् । “हिम्मत हार्नु हुँदैन रहेछ, अल्लाहले विकल्प दिइहाल्दा रहेछन् ! घरमा सामान्य सिकेको पेन्टिङ कलालाई जीविकोपार्जनको आधार बनाउने सोच आयो । मेरो सीपलाई निखार्ने अवसर भने केही समयअघि खुलेको नारी विकास केन्द्रले दियो”, खातुनले भन्नुभयो,“धन्न त्योबेला छ सात सयमा परिवार चल्थ्यो । अहिले त जति पैसा भए पनि पुग्दैन । त्यसमा पनि पेन्टिङ्को कुनै मूल्य नै छैनजस्तो लाग्छ ।”

खातुनले यहीँ पेशाबाट घरपरिवारको लालनपालनदेखि छोराछोरीको विहेसम्म गरिदिएको सुनाउनुभयो । उहाँ भन्नुहुन्छ,“हो, पेन्टिङबाटै यो सबै सम्भव भएको हो । यदि यो सीप नभएको भए मैले सात छोराछोरीसहितको परिवार कसरी पालनपोषण गर्थें होला ? यही चित्रकलाबाट घरबार चल्यो, छोराछोरीको विवाह गरियो ।”

जनकपुरधाम–१० देवीचोककी सीतादेवी कर्णलाई पनि मिथिला चित्रकलाले नाम, दाम र प्रतिष्ठा सबै दियो । यहीँ कलाले उहाँलाई बेल्जियम, अमेरिका, काठमाडौँलगायत भारतका विभिन्न ठाउँमा गएर आफ्नो कला प्रदर्शन गर्ने अवसर दियो । त्यसबाट आएको पैसाले परिवारको लालनपालनमा सहयोग पुग्यो । “म तीस वर्षदेखि यहीँ काम गरिरहेकी छु । गाहे अप्ठ्यारो त जुनसुकै पेशामा हुन्छ नै । तर यहीँ पेसाले मजस्ता तमाम नारीलाई नयाँ पहिचान दियो । देश दुनियाँ हेर्ने अवसर दियो”, उहाँ भन्नुहुन्छ, “आफ्नो जीवन र आँखाको ज्योति रहेसम्म यो कलामा समर्पित हुने चाहना छ । अब नयाँ पुस्तालाई यो क्षेत्रमा अगाडि बढ्नका लागि आफ्नो तर्फबाट सक्दो सन्देश फैलाउन योजना छ ।”

कर्णलाई मिथिला चित्रकलाप्रतिको लगाव भने उहाँकी आमाले जागृत गराउनुभएको हो । त्यसलाई निखार्ने अवसर भने जनकपुर नारी विकास केन्द्रले दिएको हो । “म बच्चादेखि नै यो कलामा लागेको हो । मेरो आमाले चाडपर्वमा गोबर, चामलको पिठोबाट परम्परागत चित्रकला बनाउनुहुन्थ्यो । त्यहीँबेलादेखि चित्रकला सिक्ने भोक जोगको हो । नारी विकास केन्द्रले त्यसलाई निखार्न अभिप्रेरित ग¥यो । त्यसको प्रस्थानबिन्दु भने २०५० साल थियो”, कर्णले भन्नुभयो ।

सो संस्थाले त्यस वर्ष ६३ जनालाई सहभागी गराएर चित्रकला प्रदर्शनीसहित अन्तर्वार्ता लिँदा त्यसबाट उत्कृष्ट प्रतिस्पर्धीका रूपमा छनोट भएर काम सुरू गरेको कर्णले जानकारी दिनुभयो । त्यसपछि नै उहाँको व्यावसायिक जीवन सुरू भएको हो । उहाँले छ महिनामै शाखाको व्यवस्थापक र मास्टर आर्टिस्ट, पछि संस्थाको सचिव, कोषाध्यक्ष र अध्यक्ष हुँदै २२ वर्षसम्म त्यहाँ काम गरेको स्मरण गर्नुभयो । उहाँ नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सदस्य पनि बन्नुभयो ।

जनकपुरधाम–१० निवासी सुलोचना कर्णले पनि विगत ३० वर्षदेखि मिथिला चित्रकला कोर्दै आउनुभएको छ । निर्जिव वस्तुमा कोर्ने यहीँ चित्रकलाले आफ्नो जीवनलाई नै जिवन्त बनाइदिएको उहाँको बुझाई छ । “यहीँ काम गरेर आफ्नो पहिचान बनाए । थोरै भए पनि यो कामबाट आर्जेको पैसाले घरपरिवार चलाउन योगदान पुग्यो । यो भन्नुको अर्थ त्यसले मलाई स्वावलम्बी, आत्मनिर्भर र प्रतिष्ठित जीवन बाँच्नका लागि जीवनमै रङ भरिदियो”, उहाँले रासससँग भन्नुभयो ।

अरुणा हिङमाङ अहिले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सदस्य हुनुहुन्छ । प्रतिष्ठानको हस्तकला विभाग प्रमुख तथा मधेस प्रदेश समन्वय समिति संयोजकसमेत रहनुभएका उहाँ मिथिला चित्रकलामार्फत समाज परिवर्तन, विद्रोह, समाजका सुसुप्त आवाज, नारी समानताको वकालत गर्ने नारीवादी चित्रकारका रुपमा चिनिनुहुन्छ ।

हिङमाङ यहीँ कारणले आफूलाई प्रतिष्ठित संस्थाको प्राज्ञ बनाएको बताउनुहुन्छ । “चित्रकला भनेको सौन्दर्य र सजावटका लागि मात्रै होइन यो समाज परिवर्तनका लागि आवाज उठाउने शसक्त माध्यम पनि हो । मिथिला चित्रकला त यहाँका सीमान्त नारीहरूमा सुसुप्तरूपमा रहेको बिद्रोहको चेतनालाई प्रस्फुटित गर्दै आर्थिक, सामाजिक र नेतृत्व क्षमता विकासमा टेवा पु¥याउने आधार पनि हो”, हिङमाङ भन्नुहुन्छ ।

ललितकलाले पनि अनुसन्धान, सिर्जना र सम्मानका खातिर काम गर्दै आएको र आफ्नो उपस्थितिपछि मधेशका चित्रकारहरूलाई लक्षित गरी विभिन्न कार्यक्रम गरिरहेको बताउनुभयो । “यहाँको कलालाई थप प्रवद्र्धन गर्न पहिलोपटक (यही चैत २ देखि ५ गतेसम्म) ललितकला प्रदर्शनी सम्पन्न गरेका छौँ । त्यसले यहाँका प्रतिभाहरूको सिर्जनाको सम्मान र नारीहरूलाई थप क्रियाशील हुन सहयोग गरेको छ । आगामी दिनमा पनि थप कार्यक्रम ल्याएर यहाँका महिलाहरूलाई आर्थिकरूपमा टेवा पुग्ने गरी सीप निखार्ने खालका कार्यक्रम ल्याउने योजना छ”, उहाँले भन्नुभयो ।

हुन त मिथिला चित्रकला मिथिलाञ्चलको पहिचान, कला, संस्कृति, भाषा, साहित्यको त्रिवेणी हो । त्यसैले यहाँका हरेक नारीहरू कुनै न कुनै रूपमा यो सीपसँग परिचित छन् । त्रेता युगमा मिथिला नरेश रामलाई जनकपुरमा स्वागत गर्न राजा जनकले यहाँका भित्ताभित्तामा मिथिला चित्र बनाउन लगाएको किंवदन्तीबाट सुरुभएको यो मौलिक सभ्यातालाई विशेषगरी यहाँका तिनै नारीहरूले धानिरहेका छन् ।

शदिऔँदेखि सामान्यतः बिहे, व्रतबन्ध, चाडपर्वमा घरआँगन रङ्गाउन प्रयोग हुने यो कला महिलाले आफ्नो मनोभाव चित्रमार्फत व्यक्त गर्ने एक माध्यमका रूपमा मात्रै सीमित थियो । विसं २०५० पछि भने महिला स्वतन्त्रता, सम्मान र स्वावलम्बनका लागि बलियो आधार बनेको छ । त्यसको ठूलो श्रेय नारी विकास केन्द्रलाई जान्छ । विगतमा मिथिला क्षेत्रको सिङ्गो लोकगाथा, सभ्यता र मधेशको जीवन बोक्दै आएको यो कलाले पछिल्लो समय यहाँका नारीहरूको आर्थिक जीवनलाई पनि उचाल्न सघाउ पुगेको छ ।

“घुम्टो उघारेर अमेरिकासम्म पुग्ने । आर्थिक स्रोतमा बलियो पकड जमाउने र निर्भिकतापूर्वक स्वतन्त्र जीवन बाँच्ने आधारका रूपमा मिथिला चित्रकलालाई लिन सकिन्छ”, मिथिला चित्रकलालाई आधुनिक स्वरूप दिन योगदान दिनुभएका डा. राजेन्द्र विमल भन्नुहुन्छ,“मिथिला चित्रकला यहाँको भाषा, कला, साहित्य र संस्कृतिको संगम हो । यसले मैथिल सभ्यता बोल्छ । यहाँको लोकजीवन बोक्छ । नारी हृदयबाट प्रस्फुटित आत्मिक भाव र रुपलाई शव्दचित्रमा ओकेल्छ ।”

यसलाई थप सशक्त र व्यवस्थित बनाउने कार्यको सुरूवात भने नारी विकास केन्द्रको स्थापनापछि भएको डा. विमलको पनि भनाइ छ । “मिथिला चित्रकला यहाँका नारी, समाज र लोकआस्थालाई छुट्याउन सकिँदैन । त्यसैले यहाँका नारीहरू कुनै न कुनै रूपमा यससँग परिचित नै छन् । तर त्यसलाई व्यावसायिक बनाउने र जीविकोपार्जनको सशक्त आधार तय गर्ने कामचाहिँ त्यहीँ केन्द्रले गरेको हो ।”

जनकपुर नारी विकास केन्द्रका व्यवस्थापक अभिवन अंशु नारी सशक्तीकरण र आत्मनिर्भरताका लागि यहाँका नारीमा रहेको कलालाई निखार्न केन्द्रले ठूलो सहयोग गरेको बताउनुहुन्छ । विशेषगरी नेपाली मिथिला क्षेत्रमा सीमित चित्रकलालाई विश्व जगतमा फैलाउन र घरमा सीमित रहेर आश्रित जीवन बाँचिरहेका महिलालाई आर्थिक, सामाजिक रूपमा सशक्त बनाउँदै संसार देख्न र बुझ्न यहीँ संस्थाले जग निर्माण गरिदिएको उहाँको भनाइ छ ।

“मैथिल नारीहरूसँग केही न केही सीप छ । तर त्यसमा निखार र प्रचारको अभाव थियो । मिथिला चित्रकला, हस्तकला, सिलाइ र छपाइका सामग्रीमा सुन्दरता भरेर आर्थिक, सामाजिक र मनोवैज्ञानिक हिसाबले महिलालाई सशक्तीकरण गर्न हाम्रा अग्रजहरूले यो संस्था निर्माण गरेका थिए । त्यसको निरन्तरता दिइरहेका छौँ”, उहाँ भन्नुहुन्छ,“तर यसलाई समयसापेक्ष विकासका लागि हामीले मात्रै चाहेर धेरै कुरा हुने अवस्था छैन ।” नेपालको मौलिक मिथिला पेन्टिङको माध्यमबाट संसारमा चिनाउने र नारी समानता तथा स्वावलम्बनका लागि महत्वपूर्ण योगदान गर्नसक्ने भएकाले यस क्षेत्रको विकासका लागि सामूहिक पहलकदमी जरुरी छ ।  टीकाराम सुनार र चन्द्रदेव साह/रासस