२०८१ मंसिर १३ , बिहिवार

घान्द्रुकको मौलिकता र संस्कृति जोगाउनु सबैको कर्तव्यः अध्यक्ष केसी

Capture

सुनाखरी न्युज/ पोखरा ।

कास्कीको अन्नपूर्ण गाउँपालिका–१०/११ घान्द्रुकमा ‘पर्यटन महोत्सव’ सुरु भएको छ । ‘सबै मौसममा पर्यटन’ भन्ने नारासहित आजदेखि सुरु भएको घान्द्रुक पर्यटन महोत्सव चैत ३० गतेसम्म सञ्चालन हुनेछ ।सो महोत्सवको उद्घाटन अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले गरे । महोत्सवको उद्घाटनपछि बोल्दै अध्यक्ष केसीले घान्द्रुकको मौलिकता र संस्कृति जोगाउने कर्तव्य सबैको रहेको बताए ।

‘अन्नपूर्ण गाउँपालिकाको ७ देखि ११ नम्बर वडा हामीले पर्यटकीय क्षेत्रको रुपमा अगाडि सारेका छौं, अध्यक्ष केसीले भने, ‘गाउँपालिकाको पर्यटकीय क्षेत्रको रुपमा १०/११ मा पर्ने घान्द्रुक आन्तरिक तथा बाह्य पर्यटकको रोजाईको केन्द्र हो । त्यसैले घान्द्रुकको मौलिकता र संस्कृति जोगाउनु हामी सबैको कर्तव्य हो ।’अध्यक्ष केसीले आफ्नो कार्यकालमा घान्द्रुक आउने सडक कालोपत्र गर्ने बताउँदै घान्द्रुकमा पर्यटकको बसाई लम्बाउने विषयमा केन्द्रित हुनुपर्ने बताए ।

‘हाम्रो कार्यकाल भित्र घान्द्रुकसम्म आउने सडक कालोपत्र गर्छौ । सडक कालोपत्र भएपछि पोखराबाट केही घण्टामै पर्यटक घान्द्रुक आउन सक्छन्, अध्यक्ष केसीले भने, ‘घान्द्रुक आएका आन्तरिक तथा बाह्य पर्यटकहरुको बसाई लम्बाउन स्थानीय सरकार, व्यवसायी र स्थानीयहरु त्यस विषयमा केन्द्रित हुनुपर्छ ।’यस्तै अन्नपूर्ण गाउँपालिका–१० घान्द्रुकका वडाध्यक्ष गौतम गुरुङले घान्द्रुक पर्यटकका लागि स्थापित भइसकेकाले चुनौतीसमेत थपिदै गएको बताए ।

‘घान्द्रुक आन्तरिक तथा बाह्य पर्यटकहरुको लागि स्थापित भइसकेको छ । हिजोको घान्द्रुक र आजको घान्द्रुकमा परिवर्तन भएको छ, वडाध्यक्ष गुरुङले भने, ‘पर्यटकहरुका लागि स्थापित भइसकेको घान्द्रुकलाई जिवन्त राख्न घान्द्रुकको मौलिकता जोगाई राख्न सबैले हातेमालो गर्न आवश्यक छ ।’उनले घान्द्रुकको ढुङ्गेली गाउँको संरक्षण गर्दै पर्यटकको बसाई लम्बाउन नयाँनयाँ कार्यक्रम र योजना अगाडि बढाउन आवश्यक रहेको धारणा राखे ।

कार्यक्रममा अन्नपूर्ण गाउँपालिका–७ का वडाध्यक्ष भरत गुरुङ, तमु प्हे ल्हु संघ घान्द्रुकका अध्यक्ष प्रेम गुरुङ लगायतले बोलेका थिए । घान्द्रुक पर्यटक व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङको अध्यक्षता भएको उद्घाटन समारोहलाई लामा अमृत फाउण्डेशनका संस्थापक अमृत गुरुङले सञ्चालन गरेका थिए ।

बास्केटबल प्रतियोगितामा दाङको विजयी सुरुवात
महोत्सवको अवसरमा आयोजित खुला क्लबस्तरीय बास्केटबल प्रतियोगितामा दाङले विजयी सुरुवात गरेको छ ।दाङले घान्द्रुकलाई पराजित गर्दै विजयी सुरुवात गरेको हो । यस्तै आर्मी र टाइम्सबीच भएको खेल भने वर्षाका कारण स्थगित भएको छ ।महोत्सवका संयोजक अमृत लामा गुरुङका अनुसार उक्त खेल भोलि हुनेछ । सो प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ६० हजार रुपैयाँ पुरस्कारसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

बास्केटबलतर्फ कुल १२ टिमको सहभागिता रहेको छ ।यस्तै बधबारदेखि नै भलिबल प्रतियोगितापनि सुरु हुनेछ ।क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११, उपविजेताले ७० हजार रुपैयाँसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै महिलातर्फको विजेताले ३० हजार र उपविजेताले २० हजार रुपैयाँ पुरस्कारसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।¬पुरुष भलिबलतर्फ विधागत उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, सेटर, सर्भर, प्रशिक्षक, उदीयमान खेलाडीलाई (सेमिफाइनलबाट म्यान अफ द म्याच) पुरस्कृत गरिनेछ । यस्तै महिलातर्फ उत्कृष्ट खेलाडी, स्पाइकर, डिफेण्डर, सेटर हुने खेलाडीलाई (सेमिफाइनलबाट म्यान अफ द म्याच) पुरस्कृत गरिने अध्यक्ष गुरुङले जानकारी दिए ।

यस्तै घोडा दौड प्रतियोगिताको विजेताले ५५ हजार ५ सय ५५, उपविजेताले २७ हजार ७ सय ७७ र तेस्रो हुनेले ११ हजार ११ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । यस्तै चक्रीय पदमार्ग दौड प्रतियोगिताको विजेताले १५ हजार, दोस्रो हुनेले १० हजार र तेस्रो हुनेले ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।यस्तै ठेलो प्रतियोगितातफै विजेताले ८ हजार र उपविजेताले ५ हजार रुपैयाँ प्राप्त गर्नेछ । महोत्सवको अवधिमा ह्विलचियर बास्केटबलको समेत प्रर्दशन गरिने छ ।सो महोत्सवको हरेक बेलुकी विभिन्न जातिका प्रचलित नृत्य तथा सांगीतिक कार्यक्रमहरु प्रस्तुत हुने संयोजक गुरुङले जानकारी दिए । उनका अनुसार सो महोत्सवमा आदिम कला केन्द्रले नृत्यहरु प्रस्तुत गर्नेछन् ।

महोत्सव अवधिभर पर्यटकलाई ३० प्रतिशत छुट
घान्द्रुक पर्यटन व्यवस्थापन समितिले महोत्सव अवधिभर घान्द्रुक जाने पर्यटकलाई ३० प्रतिशत छुट दिएको छ ।कास्कीको अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रुकमा आज चैत्र २७ देखि ३० गतेसम्म आयोजना गरिएको घान्द्रुक पर्यटन महोत्सवमा पर्यटकहरुलाई ३० प्रतिशत छुट दिएको अध्यक्ष विक्रम गुरुङले बताए ।

उनका अनुसार प्रतियोगितामा सहभागि हुने खेलाडीहरुलाई खाना र बस्नको लागि प्रतिव्यक्ति ६ सय रुयैयाँ निर्धारण गरिएको छ ।न्द्रुकमा अहिले ७० वटा व्यवस्थित होटल र १७ वटा होमस्टे सञ्चालनमा रहेका छन् । महोत्सवमा जाने पर्यटक तथा दर्शकलाई घान्द्रुकमा उत्पादन हुने खाद्यान्न र संस्कार, संस्कृतिसँगै प्रतियोगिताबाट मनोरञ्जन दिने आयोजकले जनाएको छ ।