२०८१ मंसिर २ , आइतवार

सहकारीको रकम अपचलन छानबिन गर्न संसदीय समिति बनाउने सहमति, कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक बस्दै

Sher-B-deuba-kp-sharma-oli-prachanda-and-rabi-lamichhane

सुनाखरी न्युज/ काठमाडौं ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र सत्तारुढ गठबन्धन  बीच सहकारी ठगीका विषयमा छानबिन गर्न संसदीय समिति गठन गर्ने सहमति भएको छ । समितिको कार्यादेश टुंगो लगाउन दलहरु प्रयासमा छन् । त्यसका लागि आज बिहान साढे ८ बजे कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक बस्दै छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार  बसेको सत्ता गठबन्धन र कांग्रेसका नेताहरुबीचको छलफलमा संसदीय समिति गठनका विषयमा समाधान धारणा बनेको कांग्रेस नेता रमेश लेखकले बताए ।

 

‘संसदीय छानबिन समिति बनाएर जाने विषयमा समान धारणा छ, समितिको कार्यादेश के हुने भन्ने विषयमा भोलि विहानदेखि काम हुन्छ’, उनले भने ।

समितिको कार्यादेश बनाउन नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि रहेको एक समिति बनाइएको छ । जसलाई कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले संयोजक गर्नेछन् ।

 

उक्त समितिमा कांग्रेस सहमहामन्त्री जीवन परियार, एमाले प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल रहेका कानुनमन्त्री गिरीले जानकारी दिए ।

यो समितिको बैठक आइतबार बिहान ८ बजे बस्नेछ ।

सहकारीको वचत रकम अपचलनमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने संलग्न भएको घटना सार्वजनिक भएको भन्दै कांग्रेसले यस विषयमा छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै आएको थियो । तर सरकार र सत्ता गठबन्धनले भने यसलाई अस्वीकार गर्दै आएका थिए ।

२८ वैशाखमा संघीय संसदको हिउँदे अधिवेशन सुरु भएदेखि नै नेपाली कांग्रेसले प्रतिनिधिसभा र राष्ट्रियसभा दुबै सदन लगातार अवरोध गर्दै आएको छ । उसले संसदीय छानबिन समिति गठन नभएसम्म सदन चल्न नदिने भनेपछि दलहरुबीच संसदको अवरोध खोल्ने बारेमा छलफल सुरु भएको थियो ।