सुनाखरी न्युज/ काठमाडौं ।
मलेसिया सरकारले अब केही समय विदेशी कामदार नलिने भएको छ।नयाँ कामदार भर्नाका लागि आवेदन नलिने म्याद लम्ब्याउने निर्णय गरेको गृहमन्त्री दत्तुक सेरी सैफुद्दिनले बताएका छन। तर कहिलेसम्म लम्ब्याउने भन्ने उनले खुलाएनन्।
मलेसियामा विदेशी कामदारको संख्या अर्थ मन्त्रालयले प्रक्षेपण गरेको एक करोड ७१ लाख श्रमशक्तिको १५ प्रतिशतभन्दा बढी हुन नहुने गृहमन्त्री सैफुद्दिनले पुत्राजयमा पत्रकार सम्मेलन गरेर जानकारी दिए।
विदेशी कामदारका लागि तोकिएको कोटा पूरा हुन लागेकाले थप कामदार नलिने नीति अघि सारेको मलेसियाली सञ्चारमाध्यमले उल्लेख गरेका छन्।मलेसियाले २०२३ मार्चदेखि नै विदेशी कामदारको भर्नामा रोक लगाएको हो।मन्त्री सैफुद्दिनले भने, ‘विदेशी कामदारका लागि कुनै नयाँ कोटा छैन।’
वैदेशिक रोजगार व्यवसायी संघका महासचिव मेघनाथ भुर्तेलका अनुसार त्यहाँका निजी कम्पनीले सरकारको नीति नटेरेको र देशको प्रतिष्ठामै आँच आएको भनेर भर्ना प्रक्रियामा संलग्न निजी कम्पनीको पुनरूत्थान गर्न नयाँ श्रमिक भर्ना प्रकृयामा रोक लगाउने निर्णय गरेको हो। उनले भने, ‘खुलाइ हाले पनि अक्टोबरतिर खुल्ला।’
मलेसिया नेपाली श्रमिकहरूको प्रमुख आकर्षक श्रम गन्तव्य हो। यो मुलुकमा श्रमिक जान नपाउँदा अबसरसँगै रेमिटेन्समा पनि असर पुग्ने व्यवसायीहरू बताउँछन्।मलेसियाले नेपालसहित बंगलादेश, फिलिपिन्स लगायत विभिन्न मुलुकबाट आप्रवासी श्रमिक लैजाँदै आएको छ।