२०८१ कार्तिक १६ , शुक्रवार

पाकिस्तानले स्वदेशी पेट्रोलियम पदार्थको उत्पादनलाई प्रोत्साहन गर्ने

petrol-disel-pump-petrolium-noc-oil

सुनाखरी न्युज/ काठमाडौं ।

पाकिस्तानका पेट्रोलियममामिला मन्त्री मुसादिक मसूद मलिकले पाकिस्तानले आयात बिल घटाउन स्वदेशी पेट्रोलियम पदार्थको उत्पादन बढाउने बताउनुभएको छ ।हाल पाकिस्तानले ऊर्जा आयातमा वार्षिक १८ अर्ब अमेरिकी डलरभन्दा बढी खर्च गर्ने गरेको छ । पाकिस्तानले पछिल्लो समयमा देशभित्र तेल तथा ग्यास अन्वेषणलाई गति दिइरहेको उहाँले ऊर्जा सम्मेलनलाई सम्बोधन गर्दै बताउनुभएको हो ।

देशले अन्वेषणमा विश्वका प्रसिद्ध अन्वेषकहरूलाई आकर्षित गर्ने सक्रिय प्रयास गरिरहेको प्रकाश पार्दै मलिकले पाकिस्तान व्यापारका लागि खुला रहेको र पारदर्शिता बढाउन नियामक प्रक्रियालाई पूर्ण रूपमा आधुनिकिकरण गर्र्न प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।लगानी प्रक्रिया, तेल र ग्याँस अन्वेषणसम्बन्धी जानकारीलाई डिजिटल र सरलीकृत गरिएको उल्लेख यर्दै उहाँले यस क्षेत्रमा लगानी गर्न विदेशी कम्पनीहरूलाई स्वागत गर्दै आएको उल्लेख गर्नुभयो ।

देशमा ऊर्जाको बढ्दो मूल्यबारे कुरा गर्दै मन्त्रीले पेट्रोलियम पदार्थको उत्पादन सर्वोच्च प्राथमिकता रहेकाले निर्बाध र किफायती ऊर्जा आपूर्ति सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको जनाउनुभयो ।

बिजुलीको शुल्क घटाउने विभिन्न प्रस्तावहरू कार्यान्वयन भइरहेका छन् । कुशल पावर प्लान्टहरूमा स्थानीय ग्यास आपूर्ति गरेर, बिजुलीको लागत कम गर्न सकिने उहाँले बताउनुभयो । उहाँका अनुसार टेक्नोलोजी प्रयोग गरेर ग्यास नेटवर्कको व्यापक निगरानीसहित आधुनिक प्रणालीहरू सहरी ग्यासको नोक्सानसँग लड्न प्रयोग भइरहेको छ ।

मन्त्रीले पाकिस्तानको प्रचुर मात्रामा नवीकरणीय ऊर्जा स्रोतहरूको उपयोग बढाउन आह्वान गर्दै देशको सौर्य ऊर्जा लागतमा उल्लेखनीय कमी आएको बताउनुभएको छ ।  रासस/सिन्ह्वा