सुनाखरी न्युज/ काठमाडौं ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ प्रकरणमा ह्यु एण्ड क्राइ (रुवाबासी) गर्नु नपर्ने बताएका छन्।झापामा बुधबार सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले सिरोहिया पक्राउमा ‘ह्यु एण्ड क्राई’ गर्नुपर्ने विषय नभएको बताएका छन्।
‘जस्तो ह्यु एण्ड क्राई भन्छन् नि! त्यो भइराखेको छ। त्यो गर्नुपर्ने जस्तो विषय लाग्दैन मलाई। उनलाई जन्मकैद गर्न खोजेको होइन। सञ्चारमाथिको हमला भनेर!,’ उनले भने, ‘पत्रकारमाथि फौजदारी अभियोग छ? मिडिया हाउसको प्रमुखमाथि बेग्लै मुद्दा छ।
किन यस्तो समाचार प्रकाशित गर्यो? किन यस्तो बोल्यो भन्ने विषय त होइन। विषय अर्कै छ। फौजदारी कुरा होला। यस सम्बन्धमा सरकारले छानबिन गर्नुपर्ने देख्यो….।’‘कोही समाउँदाखेरि, मन्त्री समाउँदा, उपप्रधानमन्त्री समाउँदा अनेक हुँदाखेरी हल्लिन, कराउन, दुनियाँ गर्न नपर्ने?
डेमोक्रेसी कसरी खतरामा परिहाल्यो त? एकजना मिडिया हाउसका मानिस गिरफ्तार भए? सही हो या गलत म त्यता जान चाहन्नँ। टाइमिङ ठीक भयो कि भएन त्यो बेग्लै कुरा होला तर डेमोक्रेसी नै खतरा परिहाल्यो त? उनले भने।
देशमा सबै कानुन मातहत छन् भन्ने कुरा सबैले बुझ्नु र मान्नुपर्ने उनको भनाइ थियो।नागरिकता सम्बन्धी अभियोगमा उनलाई प्रहरीले गिरफ्तार गरेको छ। मुद्दा धनुषा जिल्ला अदालतमा विचाराधीन छ। मंगलबार पक्राउ परेका सिरोहियालाई बुधबार तीन दिनको म्याद थप गरी धनुषा प्रहरीले हिरासतमा राखेको छ।