२०८१ मंसिर ७ , शुक्रवार

देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै

khop-1

सुनाखरी न्युज/ काठमाडौं ।

पोलियो रोग विरुद्धको आईपीभी खोप लगाउन छुटेका बालबालिकाहरुको लागि सोमबारदेखी देशभर ‘आईपीभी खोप अभियान’ सुरु भएको छ । जनस्वास्थ्य कार्यालय काठमाडौंले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अभियानका क्रममा काठमाडौं जिल्लाका एक लाख २५ हजार एक सय १७ बालबालिकालाई खोप लगाइने जनस्वास्थ्य अधिकृत तुलसी सुवेदीले जानकारी दिए ।

उनले काठमाडौं एक हजार चार सय २१ विद्यालयका अतिरिक्त सात सय ८३ खोप केन्द्र स्थापना गरी खोप प्रदान गरिने र अभियानका लागि दुई सय ७८ स्वास्थ्यकर्मी र पाँच सय ५६ स्वयम्सेविका परिचालन गरिने बताए ।नियमित खोप सञ्चालनका क्रममा बालबालिकालाई जन्मिएको दिनदेखि १५ महिनाभित्र सातपटक १३ वटा रोगबाट बच्ने खोप लगाउनुपर्ने व्यवस्था गरिएको तथा त्यस अवधिमा छुटेका बालबालिकालाई १६ देखि २३ महिनाभित्र खोप लगाउने व्यवस्था गरिएको उनले जनाए ।

यसैबीच, ताप्लेजुङ सदरमुकाम फुङ्लिङ बजारमा सात हजार बालबालिकालाई लक्ष्य गरेर सञ्चालित खोप अभियान शुरु भएको छ ।जिल्ला खोप समन्वय समितिले जिल्लाका नौमध्ये चार स्थानीय तहमा आइतबारदेखि जेठ १८ गतेसम्म, जेठ २० देखि २५ गतेसम्म पाँच स्थानीय तहमा अभियान सञ्चालन हुने जनाएको छ ।विसं २०७१ देखि नेपालमा आईपीभी खोप लगाउन सुरु गरिए पनि २०७३ देखि २०७५ सालसम्म विश्वभर यो खोपको अभाव हुँदा देशभरका बालबालिका खोपबाट वञ्चित भएकाले सरकारले यो अभियन संचालन गरेको हो। यस अभियानमा २०७३ वैशाख १ देखि २०७५ असोज मसान्तसम्म जन्मिएका बालबालिकाहरुलाई खोप लगाइने छ।