२०८१ मंसिर ११ , मंगलबार

निर्वाचनमा ६४ करोड २० लाख मतदाता सहभागी : भारतीय निर्वाचन आयोग

india flag

सुनाखरी न्युज/ काठमाडौं ।

छ हप्ता लामो भारतीय निर्वाचनमा ६४ करोड २० लाख भारतीय मतदाताहरूले मतदान गरेको मुख्य निर्वाचन आयुक्त राजीव कुमारले सोमबार बताउनुभएको छ । अधिकांश निर्वाचन सर्भेक्षण नतिजाले प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकाल जित्ने अनुमान गरेका छन् ।आयुक्त कुमारले ६४ करोड २० लाख भारतीयले मतदान गरी विश्व कीर्तिमान बनाएको जिकिर गर्दै यो सबैका लागि ऐतिहासिक क्षण भएको बताउनुभयो । कुल मतदातामध्ये लगभग आधा अर्थात् ३१ करोड २० लाख महिला मतदाताको सहभागिता रहेको छ । यसले भारतका मतदाताहरूको अविश्वसनीय शक्तिलाई देखाउने उहाँले उल्लेख गर्नुभयो ।

आयोगको ९६ करोड ८० हजार योग्य मतदाताको तथ्याङ्कको आधारमा, योग्य मतदाताको ६६.३ प्रतिशत मतदान भएको र योसन् २०१९ को निर्वाचनको तुलनामा थोरै कम रहेको जनाएको छ ।मतदानमा केहीले एकाध स्थानमा उदासीनता, सनकीपनमाथि विश्वास गर्दै हिंसात्मक रूपमा प्रस्तुत हुन खोजेपनि निर्वाचनमो ‘हिंसाको कुनै ठूलो घटना नभएको’ प्रमुख निर्वाचन आयुक्तल कुमारले बताउनुभयो ।

आयोगका अनुसार सातौँ र अन्तिम चरणको मतदान शनिबार समाप्त भयो भने मङ्गलबार मतगणनाको नतिजा आउनेछ ।अधिकांश ‘एक्जिट पोल’ ले मोदी विजयको बाटोमा रहेको देखाउँछ । प्रधानमन्त्री मोदीले आफ्नो सरकारलाई पुनः निर्वाचित गर्न भारतीय जनताले रेकर्ड सङ्ख्यामा मतदान गरेको कुरामा आफू विश्वस्त रहेको बताउदै आउनुभएको छ ।भारतसँंग गणना प्रक्रिया बलियो भएको र इलेक्ट्रोनिक मतदान मेसिनहरू प्रयोग गरी मतपत्रको छिटो गणना गर्न अनुमति दिइएको उहाँले बताउनुभयो ।

–निर्वाचनमा खटनपटनका लागि प्रशंसा–

मुख्य निर्वाचन आयुक्त राजीव कुमारले चुनावको जटिल खटनपटनको लागि केन्द्र र राज्य सरकारहरूको प्रशंसा गर्दै ‘मतदाता नै वास्तविक विजेता रहेका’ बताउनुभयो ।उहाँले कूल मतदाताको सङ्ख्या बढेता पनि पछिल्लो आम चुनावको तुलनामा मतदानमा केही कमी आएको बताउनुभयो ।सोमबार पश्चिम बङ्गाल राज्यका दुईवटा मतदान केन्द्रमामा पुनः मतदान गरेपछि मात्र मतदानको अन्तिम तथ्याङ्क जारी गरिनेछ ।

आइतबार राजधानी दिल्लीका मुख्यमन्त्री र मोदीविरुद्ध प्रतिस्पर्धा गर्न गठन गरिएको गठबन्धनका प्रमुख नेता अरविन्द केजरीवाल उहाँलाई दिइएको सुविधा अनुसार निर्वाचनमा सहभागी भई जेल फर्किनुभएको छ ।केजरीवाललाई लामो समयदेखि चलिरहेको भ्रष्टाचारको अनुसन्धानका लागि मार्चदेखि हिरासतमा राखिएकोमा २१ दिन पहिले रिहा गरी मतदान समाप्त हुदाँसम्म निर्वाचनमा प्रचार गर्न अनुमति दिइएको थियो ।

‘जब सत्ता तानाशाही बन्छ, तब जेल एक जिम्मेवारी बन्छ’ भन्दै केजरीवालले आत्मसमर्पण गर्नुअघि जेलबाट ‘लडाइँ’ जारी राख्ने प्रतिवद्धता गर्नुभएको थियो ।मोदीका राजनीतिक विरोधीहरू र अन्तर्राष्ट्रिय अधिकार समूहहरूले लामो समयदेखि भारतको लोकतन्त्रका लागि खतराहरूबारे चेतावनी दिएका छन् ।अमेरिकी थिङ्क ट्याङ्क फ्रिडम हाउसले यस वर्ष भाजपाले ‘राजनीतिक विरोधीलाई लक्षित गर्न सरकारी संस्थाहरूको धेरै प्रयोग गरेको’ बताएको छ ।

–चरम गर्मी–

मतदाताको उपस्थितिमा आएको गिरावटलाई विश्लेषकहरूले आंशिक रूपमा भारतीय गर्मीमा औसतभन्दा बढी तापक्रमलाई दोष दिएका छन् ।गर्मीका कारण उत्तरी भारतमा ४५ डिग्री सेल्सियस भन्दा बढी तापक्रमका कारण लाखौँ मानिसहरू मतदान केन्द्र बाहिर लामबद्ध भएका छन् ।

उत्तर प्रदेश राज्यमा मात्रै शनिबार गर्मीका कारण कम्तीमा ३३ जना मतदानकर्मीको मृत्यु भएको थियो । उक्त राज्यमा निर्वाचन अधिकारीहरूका अनुसार ४६.९ डिग्री सेल्सियस तापक्रम पुगेको छ ।यो चुनावबाट मतदान चाँडै समाप्त हुनुपर्ने पाठ सिकेको कुमारले बताउनुभयो । एएफपी/ रासस