सुनाखरी न्युज/ काठमाडौं ।
नेकपा एमालेका सचिव योगेश भट्टराईले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले संयमता गुमाउँदै गएको टिप्पणी गरेका छन् ।संसद्को मंगलबार बसेको बैठकमा विशेष समय लिएर बोलेका भट्टराईले मेयर शाहको चर्को आलोचना गरे ।प्रतिनिधि सभाको मंगलबारको बैठकपछि बोल्दै सांसद भट्टराईले महानगरपालिकाका मेयर बालेनले ऋषिमुनि, बुद्धले बनाएको सभ्यतामाथि धावा बोलेको बताएका हुन्।
‘काठमाडौं महानगरपालिका र सडक विभागका बीचमा केही मतभेदहरू उत्पन्न भए। त्यसको दोष पनि एमालेले बोक्नुपर्ने, एमालेका अध्यक्षले बोक्नुपर्ने, म काठमाडौं महानगरपालिकाका प्रमुखमा बालेन शाह निर्वाचित भएर आएपछि हाम्रो पार्टी अध्यक्षले तबला उपहार दिनुभएको थियो,’ उनले भने, ‘ सोची विचार गरिकन तबला उपहार दिनुभयो।तबलाको अर्थ हो– करुणा, प्रेम, सद्भाव, संयम हो।’
‘काठमाडौं महानगर राजधानी हो। यहाँका जनप्रतिनिधिले सभ्यताको प्रतिनिधित्व गर्छन्। नेपालको सभ्यताको प्रतिनिधित्व गर्छन्। ऋषिमुनिहरूले बनाएको सभ्यता छ। बुद्धले बनाएको सभ्यता छ। आज त्यो सभ्यतामाथि धावा बोेलिँदैछ। २०५४ सालमा हामीले चुनाव जितेपछि काठमाडौंलाई सभ्य सहर बनायौं,’ उनले भने।
उनले एमालेको पालामा काठमाडौंमा नयाँ सहरहरू बसाएको चर्चा गरे। त्यस्तै धोबी खोला, बागमती करिडोरको योजना सारेको बताए।न्यूरोडमा फुटपाथ विस्तार गर्ने योजना सडक विभागले रोकेपपिछ मेयर बालेनले एमालेमाथि आक्रोश पोख्दै आएका छन्।