सुनाखरी न्युज/ काठमाडौं ।
सङ्खुवासभा मकालु–५ को आमराङस्थित अरुण तेस्रो जलविद्युत् आयोजनाको सुरुङको ‘ब्रेक थ्रु’ भएको छ ।मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सो आयोजनाको सुरुङको ‘ब्रेक थ्रु’ गरेका हुन् ।सुरुङको ब्रेक थ्रु कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले ऊर्जा क्षेत्रको विकासलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए ।सन् २०२६ मा विकासशील मुलुकमा फड्को मार्ने र सन् २०३० सम्म दिगो विकास लक्ष्य हासिल गर्ने प्राथमिकता निर्धारण गरेर काम गरिरहेको वर्तमान सरकारले पूर्वाधार विकासलाई पहिलो प्राथमिकतामा राखेको उनको भनाइ थियो ।
‘यस आयोजनाबारे मैले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा जानकारी लिँदै आएको छु । सन् २०१४ नोभेम्बर २५ मा परियोजना विकास सम्झौतामा हस्ताक्षर भई हाल निर्माणाधीन अवस्थामा छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘हाल परियोजनाको उत्पादनतर्फ ७४ दशमलव ०९ प्रतिशत र प्रसारणलाइनतर्फ ३७ दशमलव ९५ प्रतिशत भौतिक प्रगति भएकामा खुसी लागेको छ ।’आयोजना निर्माणपछि देशको विद्युत् व्यापारमा महत्त्वपूर्ण योगदान हुने विश्वास प्रधानमन्त्री प्रचण्डले व्यक्त गरे ।
प्रधानमन्त्री प्रचण्डले अघिल्लो महिना आफूले काठमाडौं–नौबिसे सुरुङमार्ग र बहुद्देश्यीय मरिन डाइनर्सन परियोजनाको ‘ब्रेक थ्रु’ गरेको स्मरण गर्दै राष्ट्रिय प्राथमिकताका आयोजनाहरूको अनुगमन र जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट श्रव्यदृश्यका माध्यमबाट लिइरहेको जानकारी दिए ।
‘सरकारको अनुरोध छ, विकास र समृद्धि देशको साझा लक्ष्य हो । ठूला परियोजनाहरू समयमै सम्पन्न हुँदा त्यसले राष्ट्रिय अर्थतन्त्रमा मात्रै योगदान पुग्दैन, स्थानीय साधनस्रोतको उपयोग, रोजगारी सृजना, स्थानीय विकासका क्षेत्रमा नयाँ–नयाँ अवसरहरूको सिर्जना र विकासको ढोकासमेत खुल्दछ । तसर्थ, विकासका काममा सहकार्य र सहजीकरणको बाटोबाट समाधान खोज्नु नै हामी सबैको साझा हित हुनजान्छ,’ प्रधानमन्त्री प्रचण्डले भने ।
आयोजनाले सन् २०२५ को मार्चदेखि विद्युत् उत्पादन गर्ने लक्ष्य लिइएको छ । आयोजनामा दुई सय २५ मेगावाट क्षमताको चार वटा टर्वाइनबाट नौ सय मेगावाट विद्युत उत्पादन हुनेछ । आयोजनाको मकालु गाउँपालिकाको वडा नं ३ र ५ रहेको बाँधबाट ११ दशमलव आठ किलोमिटरको सुरुङबाट चिचिला गाउँपालिका–३ पुकुवामा रहेको विद्युत्गृहमा पानी झारेर विद्युत् उत्पादन गरिनेछ ।प्रधानमन्त्री प्रचण्डसँगै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री राजेन्द्र कार्की,लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टका साथै मकालु गाउँपालिकाका अध्यक्ष तथा वडाअध्यक्षको उपस्थिति थियो ।