२०८१ आश्विन १२ , शनिवार

काठमाडौं महानगरले दियो छात्रवृत्ति विवरण नबुझाउने संस्थागत स्कुल बन्द सूचीमा राख्ने चेतावनी

Kamanapa

सुनाखरी न्युज/ काठमाडौं ।

काठमाडौं महानगरपालिकाले ३ दिनभित्र सबै संस्थागत विद्यालाई छात्रवृत्ति विवरण पेस गर्न सूचना जारी गरेको छ । तोकिएको समयभित्र विवरण नबुझाएका यही वर्षदेखि स्कुल बन्द सूचीमा राख्ने चेतावनीसमेत दिएको छ ।

महानगरको अनिवार्य तथा निशुल्क शिक्षासम्बन्धी ऐन–२०७५, शिक्षा नियमावली २०५०, काठमाडौं महानगरपालिका शिक्षा ऐन २०७५ तथा काठमाडौं महानगरपालिका शिक्षा व्यवस्थापन नियमावली २०७४ ले महानगरभित्र सञ्चालित सबै संस्थागत विद्यालयलले कुल विद्यार्थीको कम्तिमा १० प्रतिशत छात्रवृत्ति अनिवार्य दिनुपर्ने व्यवस्था गरेको छ ।

उक्त व्यवस्थाबमोजिम अझै केही विद्यालयले छात्रवृत्ति विवरण पेस नगरेको महानगरले जनाएको छ ।

 

 

काठमाडौ महानगरपालिकाले सोही सूचनामार्फत नै महानगरभित्र सञ्चालित संस्थागत विद्यालय छात्रवृत्ति दिने विद्यार्थी संख्या पनि सार्वजनिक गरेको छ ।

चालु शैक्षिक सत्रका लागि ४७३ संस्थागत विद्यालयबाट कक्षा १० सम्मसम्मका विद्यार्थी संख्या र उपलब्ध गराइएको छात्रवृत्ति विवरण प्राप्त भएको महानगरले जनाएको छ ।

जसअनुसार महानगरभित्रका सबै संस्थागत विद्यालयमा विद्यार्थीको संख्या १ लाख ४९ हजार ९५० जना अध्ययनरत छन् । यसमध्येका १८ हजार ४२२ जनाले छात्रवृत्ति प्राप्त गरेका छन् ।