सुनाखरी न्युज/ काठमाडौ ।
पुँजी कोषमा दबाब रहेका बैंकलाई राष्ट्र बैंकले सहजिकरण गर्ने भएको छ । बैंकहरूको पुँजी कोषमा दबाब देखिएसँगै उनीहरूले चाहेर पनि कर्जा लगानी तीव्र दरमा विस्तार गर्न सकिरहेका छैनन्।
राष्ट्र बैंकको नियम अनुसार बैंकहरूको कुल जोखिम सम्पत्तिको आधारमा प्राथमिक पुँजी कोष ८.५ प्रतिशत हुनुपर्छ। गत चैत अन्त्यसम्मको तथ्यांक अनुसार धेरै बैंकहरू यस्तो सीमा नजिक आइसकेका छन्।
कुमारी बैंक र एनआइसी एशिया बैंकको यस्तो अनुपात तोकिएको भन्दा तल छ। यी बैंकको पुँजी कोष अनुपात क्रमशः ८.०३ प्रतिशत र ८.२५ प्रतिशत छ।
कर्जा लगानी बढ्दै जाँदा बैंकहरूले राख्नुपर्ने जोखिम भार समेत बढ्दै जान्छ। यसले यो अनुपात समेत घट्दै जाने हुन्छ।
त्यसैले यस्तो अनुपात तोकिएको नजिक आएका बैंकहरूले कर्जा लगानी विस्तारमा तीव्रता ल्याउन सक्दैनन्।
यसको अनुपात बढाउन बैंकहरूको प्राथमिक पुँजी नै बढ्नुपर्छ।