सुनाखरी न्युज/ काठमाडौं ।
असारका लागि वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर थप घटाएका छन् । सञ्चालनमा रहेका २० मध्ये तीन बैंकले निक्षेपको ब्याजदर बढाउँदा ११ ले भने घटाएका छन् । बैंकहरूले औसतमा ०.१२ प्रतिशत बिन्दुले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाएका हुन् ।
अधिक तरलता भएर राष्ट्र बैंकले निरन्तर तरलता खिच्नुपर्ने अवस्थामा बैंकहरूले कोषका लागि घटाउने लामो अवधिको मुद्दती निक्षेप लक्षित गर्दै सोही अनुसार निक्षेप ‘प्रडक्ट’ अगाडि सारेका छन् ।
राष्ट्र बैंकले व्यक्तिगत मुद्दती निक्षेपको माथिल्लो सीमा र बचतको न्यूनतम ब्याजदरबीच अन्तर बढीमा ५ प्रतिशतभन्दा हुन नहुने व्यवस्था गरेको छ ।
यस्तै कल निक्षेपमा बचतको न्यूनतम ब्याजदरको ५० प्रतिशत मात्रै ब्याज दिन पाइने व्यवस्था छ । संस्थागत मुद्दती निक्षेपमा व्यक्तिगत मुद्दती निक्षेपभन्दा कम्तीमा १ प्रतिशत बिन्दुले ब्याजदर कम गर्नुपर्छ ।
बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएपछि मात्रै बचत र कल निक्षेपको ब्याजदर घटाउन सक्छन् ।
राष्ट्र बैंकले बैंकहरूलाई ब्याजदरमा उतारचढाव कम गर्न भन्दै ब्याजदर निर्धारण गर्ने आधारका रूपमा सोही वर्गका बैंकले अघिल्लो महिनाको अधिकतम ब्याजदरको औसत निकालेर त्यसको १० प्रतिशत मात्रै तलमाथि गर्न सक्ने व्यवस्था छ ।
असारमा कृषि विकास, नेपाल बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा, सिद्धार्थ, स्ट्यान्डर्ड चार्टड र प्रभु बैंकले व्यक्तिगत मुद्दती निक्षेपको माथिल्लो सीमा जेठकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।
असारमा व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा न्यून ब्याजदर कृषि विकास बैंकको ५.६६६१ प्रतिशत र एभरेस्ट बैंकको ५.७५ प्रतिशत छ । कृषि विकासले एकदेखि पाँच वर्ष अवधिको मुद्दती निक्षेपमा उक्त ब्याजदर प्रस्ताव गर्दा एभरेस्टले दुई वर्ष माथिको निक्षेपमा उक्त ब्याजदर दिने भएको हो ।
हिमालयन बैंकले भने व्यक्तित मुद्दती निक्षेपको ब्याजदर जेठमा ७.५ प्रतिशत तोकेकोमा असारमा बढाएर ८.२५ प्रतिशत पुर्याएको छ । पाँचदेखि १० वर्ष अवधिको व्यक्तिगत मुद्दती निक्षेपमा बैंकले उक्त ब्याजदर दिने भएको हो ।
यस्तै ब्याजदर बढाउनेमा नबिल बैंकले ६.७५ प्रतिशतबाट ७ प्रतिशत पुर्याएको छ । उसले पाँच वर्ष माथिको व्यक्तिगत मुद्दती निक्षेपमा उक्त ब्याजदर तोकेको हो ।
माछापुच्छ«े बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा तीन वर्षभन्दा माथि अवधिका लागि ७.५ प्रतिशत ब्याजदर दिने भएको छ । जेठमा अधिकतम ५.२६ प्रतिशत रहेको ब्याजदर बैंकले बढाएको हो ।
राष्ट्रिय वाणिज्य बैंक, नेपाल एसबीआई, लक्ष्मी सनराइज, ग्लोबल आईएमई, कुमारी, प्राइम, सानिमा, सिटिजन्स, एनएमबी र एनआईसी एसिया बैंकले भने ब्याजदर घटाएका छन् ।