सुनाखरी न्युज/काठमाडौं ।
काठमाडौँ महानगरपालिका–१ नक्सालमा सडकमुनि छोपिएको भैरवलाई खुला गराइएको छ । नक्साल भगवतीको मन्दिरबाट नागपोखरीतर्फ जाँदा मध्य भाग स्थित चार ढुङ्गेमा सवारी साधन गुड्ने कालोपत्रे सडक मुनि कमलको आसनमा भैरवको स्वरूप शिवलिङ्ग खुला गरिएको हो ।
त्यहाँ भेटिएका सिक्का तथा चुरा अध्ययनका लागि वडाले सुरक्षित गरेको छ । करिब ४७ वर्ष अघि छोपिएको भैरव खुला भएकोमा स्थानीय मा खुसीयाली छाएको छ।यसको स्थापनाका विषयमा स्थानीयहरू शंकराचार्य र अमर वाणाको तान्त्रिक युद्धको जनश्रुतिमा आधारित कथा सुनाउँछन् ।
स्थानीय विक्रमदास मानन्धरका अनुसार यो करिब २०२४ सालतिर छोपिएको हो । त्यसअघिसम्म खाडलका चारतिर ढुङ्गाका थाम थिए । सहरीकरण बढ्दै गएर सडक साँघुरो महसुस भएपछि खाडलमाथि स्ल्याप राखेर पुरिएको हो । यसरी पुरिएको ठाउँमा एउटा सानो प्वाल राखिएको थियो । मानिसहरू त्यही प्वालबाट सिक्का चढाएर श्रद्धा अर्पण गर्ने गर्थे ।
चार ढुङ्गे मात्र होइन । यहाँबाट प्रहरी प्रधान कार्यालयतर्फ लाग्दा पुगिने प्रहरीको कम्पाउण्डसँगै जोडिएको चोक २ सिंह रहेको ठाउँ हो । यसलाई पुनरुत्थान गरेर नक्साललाई सम्पदा मार्ग बनाउने योजना कार्यान्वयनमा लैजाने वडाको योजना रहेको वडा सदस्य रोशन श्रेष्ठ बताउँछन्।