२०८१ मंसिर १० , सोमवार

साङ्घाई कोअपरेसन सम्मेलन : राष्ट्रपति पुटिन र सीबीच प्रभाव जमाउने होडबाजी

chimkandi

सुनाखरी न्युज/ काठमाडौं ।

रूस र चीनका नेताहरू पश्चिमी विरोधी गठबन्धनलाई कडा बनाउन र रणनीतिक मध्य एसियाली क्षेत्रमा आफ्नो प्रभाव बढाउन बुधबार कजाकस्तानमा क्षेत्रीय शिखर सम्मेलनका लागि पुगेका थिए ।रूसका राष्ट्रपति भ्लादिमिर पुटिन मध्य एसिया, भारत र इरानलाई समेट्ने बेइजिङ नेतृत्वको क्षेत्रीय समूह साङ्घाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) को बैठकमा भाग लिन बुधबार बिहान कजाकस्तानको राजधानी अस्ताना पुग्नुभएको थियो ।

रूसले सन् २०२२ को फेब्रुअरीमा युक्रेनमाथि आक्रमण सुरु गरेयता मस्को र बेइजिङबीचको राजनीतिक, सैन्य र आर्थिक सम्बन्ध प्रगाढ बनेको छ ।मङ्गलबार कजाकस्तान पुगेका चिनियाँ नेता सी चिनफिङसँगै यो जोडीले एससीओलाई युरेशियामा आफ्नो रणनीतिक हितलाई अगाडि बढाउने महत्वपूर्ण मञ्चका रूपमा हेरेका छन् ।

क्रेमलिनका सहयोगी युरी उशाकोभले पुटिनको आगमनअघि रूसी सरकारी सञ्चारमाध्यमसँग भन्नुभयो, “हामी यस सङ्गठनभित्र साझेदारी सहयोगलाई ठूलो महत्व दिन्छौं ।”रूस र चीन दुवैले विश्व मञ्चमा अमेरिकी नेतृत्वको ‘आधिपत्य’ को विरोध गर्दै आएका छन् ।चीनको विदेश मन्त्रालयका प्रवक्ता माओ निङले यसै साताको सुरुमा एससीओ शिखर सम्मेलनले “सबै पक्षबीच थप सहमति निर्माण गर्न र सदस्य राष्ट्रहरूको सुरक्षा, स्थिरता र विकासलाई बढावा दिन योगदान गर्न’ र ‘विश्वमा दिगो शान्ति र साझा समृद्धि’ लाई अगाडि बढाउन मद्दत गर्ने विश्वास व्यक्त गरेका थिए ।

रूसले युक्रेनमाथि आक्रमण गर्नुभन्दा केही दिनअघि नै ‘सीमा विहिन’ रणनीतिक साझेदारी गरे पनि मस्को र बेइजिङ मध्य एसियाली क्षेत्रमा प्रभाव जमाउने ऐतिहासिक प्रतिद्वन्द्वी रहँदै आएका छन् ।कजाखस्तान, किर्गिस्तान, ताजिकिस्तान, तुर्कमेनिस्तान र उज्बेकिस्तान पूर्व सोभियत गणतन्त्र हुन् र रूससँग ऐतिहासिक सांस्कृतिक, भाषिक र आर्थिक सम्बन्ध छ ।

तर चीनको बढ्दो आर्थिक शक्ति र यस क्षेत्रमा व्यापक लगानीले रूसी प्रभावलाई चुनौती दिएको छ ।चीनको अन्तर्राष्ट्रिय रणनीतिक परियोजना बेल्ट एण्ड रोड अन्तर्राष्ट्रिय पूर्वाधार विकासका लागि मध्य एसिया महत्वपूर्ण छ ।यो क्षेत्र प्राकृतिक स्रोतहरूमा धनी छ र चीन र युरोपबीच मालसामानको हवाइ यातायातको लागि महत्त्वपूर्ण छ ।युक्रेनविरुद्ध रूसको युद्धलाई अन्य शक्तिराष्ट्रका लागि मस्कोसँग परम्परागत रूपमा गाँसिएको क्षेत्रमा प्रवेश गर्ने अवसर सिर्जना गर्ने अवसरका रूपमा पनि हेरिएको छ ।

अति बन्द तुर्कमेनिस्तान एससीओको सदस्य होइन, तर भारत, इरान र पाकिस्तानसँगै अन्य चार राष्ट्र यसका सदस्य हुन् ।नौ सदस्यीय समूहमा टर्की र खाडीका केही मुलुकजस्ता १४ ’संवाद साझेदार’ छन् ।मञ्चको मुख्य सत्रसँगै क्रेमलिनले पुटिनले शिखर सम्मेलनमा टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानलाई पनि सहभागी गराउने गरी केही नेतासँग द्विपक्षीय भेटवार्ता गर्ने योजना बनाएको जनाएको छ ।

नेटो सदस्य राष्ट्र टर्कीले युक्रेन युद्धमा आफूलाई सम्भावित मध्यस्थकर्ताका रुपमा प्रस्तुत गरिरहेको छ ।सन् २०२३ को शिखर सम्मेलनमा रुसको निकट सहयोगी बेलारुसले एससीओको सदस्य बन्ने बताएपछि बैठकमा सहभागी हुने अपेक्षा गरिएको छ ।संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले पनि बिहीबार दुई दिने शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ ।  रासस/एएफपी