सुनाखरी न्युज/ काठमाडौं ।
बाँकेको डुडुवा गाउँपालिका–६ स्थित सिखनपुरवामा फरार प्रतिवादी पक्राउ गर्न खोज्दा स्थानीय र प्रहरीबीच झडप भएको छ ।स्थानीयले प्रहरीमाथि ढुङ्गामुढा गरेपछि प्रहरीले आत्मरक्षाका लागि एक राउण्ड हवाई फायर र दुई राउण्ड गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिनुभयो । “झडप भएपछि प्रहरीले बाध्य भएर गोली प्रहार गरेको थियो”, उहाँले भन्नुभयो ।
प्रहरी उपरीक्षक कार्कीका अनुसार झडपमा एक स्थानीय महिला र वरिष्ठ प्रहरी हवल्दार मदन डाँगी घाइते भएका छन् । प्रहरी हवल्दार डाँगीलाई स्थानीयले प्रहार गरेको इट्टाले टाउकोमा चोट लागेको छ । घाइते दुवैको भेरी अस्पताल नेपालगञ्जमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो ।
“डुडुवा गाउँपालिका–६ का ६५ वर्षीय सोन्नामसिंह सर्दार छ वर्षदेखि डाँका मुद्दामा फरार प्रतिवादी हुन् । उनी भागेपछि खुट्टामा गोली प्रहार गरेर नियन्त्रणमा लिएका हौँ”, प्रहरी उपरीक्षक कार्कीले भन्नुभयो, “निजलाई सुरुमा प्रहरीले पक्राउ गरेको थियो । स्थानीयले निजलाई भाग्न सहयोग गरेपछि पुनः पक्राउ गर्न खुट्टामा गोली प्रहार गरिएको हो ।” उहाँका अनुसार फरार प्रतिवादी सर्दारलाई पक्राउ गर्न खोज्दा करिब एक घण्टा स्थिति तनावग्रस्त बनेको थियो । रासस