२०८१ मंसिर १० , सोमवार

चिनियाँ प्रधानमन्त्रीद्वारा एआईको क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोगको आह्वान

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

चिनियाँ प्रधानमन्त्री ली किआङले बिहीबार खुला मानसिकताका साथ आर्टिफिसियल इन्टेलिजेन्स(एआई)को क्षेत्रमा विश्वव्यापी सहकार्यको आह्वान गर्नुभएको छ ।चीनले विशेष गरी जेनेरेटिभ एआईको क्षेत्रमा ध्यान दिईरहेको छ । संयुक्त राष्ट्र सङ्घले बुधबार बेइजिङ विश्वव्यापी रूपमा जेनेरेटिभ एआई पेटेन्ट दर्ताको अग्रणीमा रहेको बताएको छ ।

अमेरिका र अन्य देशहरूले चिनियाँ प्रविधिलाई जासुसी कार्यका लागि प्रयोग गर्न सकिने दाबी गरेको छ । तसर्थ चीनको हुवावे कम्पनीले इन्टेल एआई प्रविधिद्वारा सञ्चालित कम्प्युटरको अनावरण गरेपछि अप्रिलमा वासिङ्टनले केही चिप निर्यातका लागि इजाजतपत्र रद्द गरेको थियो ।चिनियाँ प्रधानमन्त्री लीले बिहीबार देशहरूलाई खुला मानसिकता राख्न र एआईमा अन्तर्राष्ट्रिय सहयोगलाई बढावा दिन आग्रह गर्नुभयो ।

“प्रत्येक देशका लागि एआई प्रविधिको आफ्नै फाइदाहरू छन्, त्यसैले हामीले आपसी सहयोगमा संलग्न हुनुपर्दछ,” लीले साङ्घाईमा आयोजित विश्व एआई सम्मेलन (डब्ल्यूएआईसी) को उद्घाटन समारोहलाई सम्बोधन गर्दै भन्नुभयो ।चिनियाँ प्राविधि कम्पनीहरूले बहु–दिवसीय अन्तर्राष्ट्रिय सम्मेलनमा धेरै नयाँ एआई उत्पादनहरू अनावरण गर्ने अपेक्षा गरिएको छ ।

लीले देशहरूलाई ‘सीमापार डाटाको आवगमन, उपकरणको स्वतन्त्र व्यापार र पूर्वाधारको कनेक्टिभिटी’ लाई बढावा दिन आग्रह गर्नुभयो ।
उहाँले एआई प्रविधिको द्रूत विकासले ल्याएको जोखिमलाई पनि अन्तर्राष्ट्रियरूपमा ठोस ध्यान दिन आवश्यक रहेको चेतावनी दिनुभएको छ ।रासस/एएफपी