सुनाखरी न्युज/ काठमाडौं ।
प्रहरीले ललितपुरको एक घरमा भारतीय नागरिकले भाडामा लिएको घर खानतलासी गर्दा ५० लाख नगद र झन्डै १७० ग्राम सुनसहित पाँच जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको महाराष्ट्र आडवारी थाना घर भइ ललितपुरको ताल्छिखेल बस्दै आएका २८ वर्षीय युवराज विभुते, सोही ठाउँका भारतीय नागरिक २० वर्षीय विक्रम यलवर, १८ वर्षीय भारतीय नागरिक अभिषेख विभुते, भक्तपुरको सूर्यविनायक नगरपालिका–१ बिरुवाका २० वर्षीय सिद्धान्त चौलागाईं र ललितपुरकै महालक्ष्मी नगरपालिका–८ का २० वर्षीय यसवन्त सुनार छन् ।
उनीहरूबाट १६९ ग्राम ९७० मिलिग्राम सुन, २४७ ग्राम २५० मिलिग्राम चाँदी, ५० लाख ४ हजार ७३० नगद, डिजिटल तराजु, हार्ड डिस्क, सुन पगाल्ने मेसिन, बैंकमा नगद जम्मा गरेको भौचर बरामद भएको प्रहरीले जनाएको छ ।