२०८१ मंसिर १ , शनिवार

कांग्रेसका बहादुर लामाले बागमतीको मुख्यमन्त्रीमा आज दाबी पेस गर्दै

Bahadur-singh-lama-1024×624

सुनाखरी न्युज/ हेटौंडा ।

 

बागमती प्रदेशको पाँचौं मुख्यमन्त्रीका लागि आज नेपाली कांग्रेस संसदीय दलका नेता बहादुर सिं लामाले दाबी पेस गर्दै छन् । बागमती प्रदेशमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिएसँगै नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ ।

 

हेटौंडामा आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकले लामालाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको थियो ।

नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख यादवचन्द्र शर्माले आइतबार आह्वान गरेका थिए । उनले साउन ८ गते बेलुका ५ बजेसम्म नेपालको संविधानको धारा १६८ ९२० अनुसार बहुमतको सरकार गठनको आह्वान गरेका हुन् ।

नेकपा एमालेको समर्थनमा लामाले आज सोमबार १० बजेपछि मुख्यमन्त्रीमा दाबी पेस गर्ने कांग्रेस संसदीय दलका उपनेता रामकृष्ण चित्रकारले जानकारी दिए ।

मुख्यमन्त्री बन्न लागेका कांग्रेस संसदीय दलका नेता लामा २०७९ मंसिर ४ मा सम्पन्न निर्वाचनमा नुवाकोट २ (२) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।

 

लामाले प्रदेश सभाको पहिलो दल कांग्रेसका ३७ र दोस्रो दल एमालेका २७ गरी ६४ सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गर्न लागेका हुन् ।

बागमतीमा कांग्रेसले पहिलोपटक सरकारको नेतृत्व गर्दैछ । संघीयता लागू भएसँगै बागमतीमा चार जना मुख्यमन्त्री बने पनि कांग्रेसको नेतृत्वमा सरकार बन्न सकेको थिएन ।

 

प्रदेश सभामा कांग्रेसको ३७ र एमालेको २७ जना सांसद छन् । ११० सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ५६ सांसदको बहुमत आवश्यक पर्छ ।

सात दलको प्रतिनिधित्व रहेको प्रदेश सभामा माओवादी केन्द्रका २१, राप्रपाका १३ (सभामुखसहित), एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन् ।