२०८१ मंसिर ९ , आइतवार

लुम्बिनी मुख्यमन्त्रीमा एमालेका चेतनारायण आचार्यको दाबी पेस

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका उपनेता चेतनारायण आचार्यलाई मुख्यमन्त्री बनाउन प्रदेश प्रमुख समक्ष दाबी पेस भएको छ।

नेकपा एमाले र नेपाली कांग्रेसका बीचमा एमालेको नेतृत्वमा प्रदेश सरकार बनाउने गरी भएको सहमति बमोजिम लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीमा दाबी पेस गरिएको हो। एमाले-कांग्रेसका ५६ जनाको हस्ताक्षरसहित दाबी पेस गरिएको हो।

मुख्यमन्त्री जोखबहादुर महराले आइतबार राजीनामा बुझाएसँगै प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिमको नयाँ सरकार गठनका लागि आज सोमबार साँझ ६ बजे सम्मको समय सीमा दिएर आह्वान गरेका थिए।

प्रत्यक्षतर्फ ५२ र समानुपातिकतर्फ ३५ गरी ८७ सांसद रहेको लुम्बिनी प्रदेशमा सबैभन्दा ठूलो दलको रूपमा रहेको नेकपा एमालेसँग १८ जना प्रत्यक्ष र ११ जना समानुपातिक गरी २९ जना सांसद छन् भने नेपाली कांग्रेसका प्रत्यक्षमा १७ र समानुपातिकमा १० गरी २७ जना सांसद छन्।

लुम्बिनी प्रदेशमा १० वटा दल र १ जना स्वतन्त्र सांसदको प्रतिनिधित्व छ। सरकार गठन गर्न ४४ जना सांसदको समर्थन आवश्यक पर्छ।