२०८१ मंसिर १० , सोमवार

चीनद्वारा प्रमुख ऋणको व्याजदरमा कटौती

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

चीनको केन्द्रीय बैङ्कले बिहीबार अप्रत्याशित रुपमा मध्यावधि ब्याजदरमा चार वर्षयताकै सबैभन्दा बढी कटौती गरेको छ ।विश्वको दोस्रो ठूलो अर्थतन्त्र (चीन) मा अत्यधिक ऋणग्रस्त सम्पत्ति क्षेत्र, सुस्त खपत र उच्च युवा बेरोजगारीले अर्थतन्त्रको बलियो अवस्थामा प्रभाव पारेको हालैका वर्षहरूमा गम्भीर आर्थिक समस्याहरूको सामना गर्नुपरेको छ ।

बिहीबार बिहान पिपुल्स बैंक अफ चाइनाले आफ्नो मध्यमकालीन ऋण सुविधा (एमएलएफ) को ब्याजदर २.५ प्रतिशतबाट घटाएर २.३ प्रतिशतमा झारेको छ ।केन्द्रीय बैंकले सामान्यतया महिनाको मध्यमा पूर्वनिर्धारित दिनमा एमएलएफ घोषणा गर्दछ ।गत बर्षको अगष्टमा पछिल्लो पटक ब्याजदर घटाइएको थियो तर अहिलेको समायोजनपछि अप्रिल २०२० यताकै सबैभन्दा न्यून ब्याजदर कायम भएको छ ।

केन्द्रीय बैङ्कले सोमबार महत्त्वपूर्ण दुई ब्याज दरहरू कटौती गरेपछि अपेक्षित रूपमा नै यो समायोजन आएको हो ।सन् २०२२ को अन्त्यतिर हटाइएको महामारीविरोधी कडा कदमको प्रभावबाट देशको अर्थतन्त्र पूर्णरुपमा उठ्न असफल भएको छ ।चिनियाँ अधिकारीहरूले यस वर्षको लागि पाँच प्रतिशतको हाराहारीमा आर्थिक वृद्धिको आधिकारिक लक्ष्य राखेका छन् ।तर यसलाई धेरै अर्थशास्त्रीहरूले महत्त्वाकाङ्क्षी मानेका छन् र यो दोस्रो त्रैमासिकमा मात्र ४.७ प्रतिशतले वृद्धि भएको गत हप्ताको तथ्याङ्कले देखाएको छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङलगायत कम्युनिस्ट पार्टीका नेताहरू बेइजिङमा एक बैठकका लागि भेला भएका बेला उनीहरूले अर्थव्यवस्थामा ‘जोखिम हटाउन’ र घरेलु खपत बढाउन बारम्बार आह्वान गरेका थिए ।यद्यपि, उनीहरूले अहिलेसम्म वृद्धिलाई पुनर्जीवित गर्न केही ठोस उपायहरू प्रस्ताव गरेका छन् ।  रासस/एएफपी