सौर्य एअरलाइन्सको विमान दुर्घटनामा घाइते भएका पाइलट मनिषरत्न शाक्यको अवस्था सामान्य रहेको काठमाडौं मेडिकल कलेजले जनाएको छ। सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजको सघन उपचार कक्षमा उपचारत शाक्यको स्वास्थ्यमा सुधार भइरहेको अस्पतालका व्यवस्थापक नारायण दाहालले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “शाक्यको सघन उपचार कक्षमा उपचार भइरहेको छ । अहिले उहाँ खतरामुक्त हुनुहुन्छ।” उहाँको टाउकोलगायत शरीरका विभिन्न भागको चोटमा बुधबार नै टाँका लगाइएको थियो । मेरुदण्डको भाँचिएका हड्डीको केही दिनपछि मात्र शल्यक्रिया गर्ने अस्पतालको योजना रहेको उहाँले जानकारी दिनुभयो । सौर्य एअरलाइन्सको विमान दुर्घटनामा घाइते भएका पाइलट मनिषरत्न शाक्यको अवस्था सामान्य रहेको काठमाडौं मेडिकल कलेजले जनाएको छ।
दुर्घटनामा घाइते भई उपचाररत क्याप्टेन शाक्यको अवस्थाबारे काठमाडौं मेडिकल कलेजले बिहीबार दिउँसो विज्ञप्ति निकालेर जानकारी गराएको छ। अस्पतालले एक विज्ञप्ति जारी गर्दै शाक्यको अवस्था सामान्य र कुनै जटिलता नदेखिएको जनाएको छ। अस्पतालकी निर्देशक प्राडा मीना थापाका अनुसार शाक्यको ढाडको एउटा हड्डी र देब्रे पट्टिको ३ वटा करङहरु भाँचिएका छन्।
शाक्यको टाउको,अनुहार, नाक, आँखाको चोटहरुको उपचार भने भइसकेको प्राडा थापाको भनाइ छ।बुधबार बिहान सौर्य एअरलाइन्स त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो भने पाइलट शाक्यलाई उद्दार गरिएको थियो।शाक्यलाई आइसीयुमै राखेर उपचार गरिएको अस्पतालले जनाएको छ।