२०८१ मंसिर १० , सोमवार

 सामाजिक जागरणको आन्दोलनः हलो क्रान्ति

Capture
सुनाखरी न्युज/ काठमाडौं ।
तत्कालीन अशिक्षा, अन्धविश्वास, कुसंस्कार, कुमान्यताले जकडिएको यथास्थितिको समाजमा नवीन चेतना, सामाजिक परिवर्तनको तरङ्ग मच्चाउने एक अभियान थियो हलो आन्दोलन । भित्री मूल ध्येय निरंकुश, एकतन्त्रीय राणाशासनको विरोध गर्नु थियो । वास्तवमा हलोक्रान्ति केबल कोरा क्रान्ति नभई एउटा आध्यात्मिक मलजलका माध्यमद्वारा निस्केको, जागरण र विकासको उद्देश्यमा कदम चालिएको सामाजिक क्रान्ति थियो । २००६ साउन ११ गते छेडिएको हलो आन्दोलन एक राजनीतिक, सामाजिक एवम् आर्थिक आन्दोलन पनि थियो ।
ब्राम्हणहरुले हलो जोत्न हुँदैन भन्ने रुढीबादी सामन्त संस्कारको अन्त्य गरे । ब्राम्हणहरुले हलो जोत्न हुँदैन भन्ने कुरा शास्त्र र कानुन दुवैमा छैन । त्यसैले हामी कृषक हौं, कृषकले भूमि खनजोत गर्न हुन्छ । आऊ ! जोतौँ भनी पण्डित तोयनाथ अधिकारीले आह्वान गरेको हलो क्रान्तिमा २००६ साउन ११ गतेका दिन पण्डित तोयनाथ अधिकारी, लेप्टेन शेषकान्त पौडेल, मुखिया हरिभक्त पौडेल, तथा श्रीकान्त अधिकारी लगायत २७ जना ब्राम्हणहरुले हलो जोतेर हलो क्रान्तिको शुरुआत गरेका थिए ।
हलो क्रान्तिले हलीका रुपमा खनजोत गर्ने दलितका छोरालाई अप्रत्यक्षरुपमा किनबेच गर्ने प्रथाको अन्त्य, हली नपाएर हैरान भएका कृषक ब्राम्हणहरुको समस्या समाधन, छोईछिटोको अन्त्य, रुढीवादी परम्परा बिसर्जन, सामन्त संस्कारलाई चुनौती र राणाशासन बिरोधी संगठनलाई ऊर्जा थप्ने काम ग¥यो । हलोजोत क्रान्तिले समाजमा ठूलो हलचल पैदा गर्यो । जोत्ने र नजोत्नेहरुका बीच भातभान्छा र पानी बाराबार हुँदै गयो । कतिपय सामन्ती ब्राम्हणले त बुहारीहरुलाई घर र माइती समेत गराएनन् बरु छोरीहरुलाई घर निकाला गरिदिए ।
यस आन्दोलनको मिर्मिरे उज्यालो ल्याउने केन्द्रीय तारा थिए पण्डित तोयनाथ अधिकारी । उनीसहित नेपाली सामाजिक आकाशमा चम्चमाउने उज्याला चार तारा थिए– पं. तोयानाथ अधिकारी, ले.शेषकान्त अधिकारी, मु. हरिभक पौडेल, राजनेता श्रीकान्त अधिकारी । यिनै तारा वरिपरि अन्य ताराहरू पनि मिर्मिरे उज्यालो ल्याउन चम्चमाइरहेका थिए । आज यस आन्दोलनको परिचर्चा गर्दै यसको वास्तविकता बुझी खुला र उदार समाज निर्माणमा बल पु¥याउँदै सर्वोदयका लागि व्यक्तिगत स्वार्थलाई तिलाञ्जलि दिई निःस्वार्थ ढङ्गले अभिप्रेरित हुँदै सामाजिक जागरणका लागि सङ्कल्पित हुने दिन पनि हो । यस किसिमको सामाजिक जागरण ल्याउने काम अभियानकै रूपमा निरन्तर चलिरहनु पर्दछ ।
ब्राम्हणको हलोजोत आन्दोलनलाई व्यापक बनाउन र सर्वसाधारणहरूको समेत सहभागिता र समर्थन प्राप्त गर्नका लागि लमजुङ, दुराडाँडामा २००४ सालदेखि २००६ सालको प्रारम्भसम्म पुराण वाचन गरिएको थियो । नैतिक, चारित्रिक उत्थानसहित जनचेतना जगाउने, प्रजातन्त्र प्राप्तिका लागि बल पु¥याउने, आफ्नो काम आफैँ गरी स्वावलम्बी बन्ने बनाउने उद्देश्यले पुराणका माध्यमबाट समाज परिवर्तनका लागि चालिएको एक सांस्कृतिक अभियान थियो पुराण वाचन । चारजना पण्डित वाचक रहेको यस महापुराण अभियानमा आधुनिक ढङगले पुराणको मर्मलाई व्यावहारिक ढङ्गले ढालेर भन्ने सम्झाउने मूल पण्डित तोयानाथ अधिकारी थिए । उनको प्रवचन समावेशी समाज निर्माणमा बल पुग्ने किसिमको हुन्थ्यो भन्ने बुझिन्छ ।
छुवाछुतको भेद रहेको तत्कालीन समाजमा दलितले पुराण वाचन सुन्नु हुँदैन भन्नी हेय र तिरस्कार एकथरी यथास्थितिका पक्षमा रहेका मानिसले गरे तर पं. तोयनाथले शास्त्री आधारमै व्याख्या गरेर सुन्न हुन्छ, उसले पनि आफूलाई सही बाटोमा हिँडाउन सक्छ भनी अनुमति दिएका थिए भन्ने बुझिन्छ । आज हामी समावेशीकरणको नारा उठाएका छौँ भने त्यति बेलाको पुराण वाचनमा समावेशीतालाई जोड दिइएको थियो । झट्ट हेर्दा धार्मिक, सांस्कृतिक अभियान वा अर्कोतिर कृषि क्रान्ति जस्तो देखिए पनि यो निरंङ्कुश राणातन्त्रका विरुद्ध छेडिएको सुनियोजित आन्दोलन थियो । यस आन्दोलनलाई शास्त्रीय ढङ्गले हेर्ने, प्रतिवाद गर्ने काम शास्त्रीसम्मको अध्ययन सकेर गाउँघर फर्केका सामाजिक अभियन्ता पं.तोयनाथ अधिकारीको घर नजिकै अर्चलेनी, दुराडाँडामा सर्वप्रथम ब्राह्मणद्वारा हलो जोतिएको थियो ।
त्यतिबेला ब्राह्मणले हलो जोत्नु हुँदैन भन्ने मान्यता थियो । यस किसिमको यथास्थितिमा प्रगतिवादी सोच लिएर शास्त्रीय ढङ्गले उठ्ने सवालहरूको प्रतिवाद पं.तोयानाथले गरे भने कानुनी ढङ्गले उठ्ने सवालहरूको जवाफ दिन र प्रतिरक्षा गर्न जागिरे जीवन भोगाइबाट खारिएका ले. शेषकान्त अधिकारी, मु. हरिभक्त पौडेल तम्तयार थिए भने व्यावहारिक पाटोबाट आएका अड्चनहरूलाई केलाउने र प्रतिवाद गर्ने जिम्मा हरिदास अधिकारी मुखियाले लिएका थिए । हलो आन्दोलन छेड्नु केही समय अगाडि हरिदासको निधन भएकाले उनैका सुयोग्य सुपुत्र नवयुवा श्रीकान्त अधिकारीले उक्त स्थान ग्रहण गरे । नवयुवाहरूलाई जुरुक्क उठाउने काम उनले गरे । ब्राह्मणद्वारा धर्ती, गोरु र हलोका सामानहरूको पूजा गरी हलो जोतिएको घटनाले बन्द समाजमा ठूलै भूकम्प गएको जस्तो धक्का महसुस गरियो । समाजमा ठूलो वहस चल्यो । समाज रूपान्तरणको पक्षमा र यथास्थितिको रक्षामा दुई पाटोमा समाज बाँडिन गयो ।
हलो क्रान्तिपछि छुवाछुतको क्रमशः अन्त्य हुँदै गयो । ब्राम्हणका चेलीबेटीको कोशेली बोकेर दलितहरुले घरमाइती गराउन थाले । ब्राम्हणहरु आफैले जोतेर खेती लगाउने चलनको थालनी भयो । विद्यालयमा समावेसी सहशिक्षाको परम्परा शुरुभयो । विस्तारै समाजको ठूलो हिस्सा भने परिवर्तनकै पक्षमा उभियो । कविता पनि पक्ष र विपक्षमा छेडछाड गरेर लेखिए । यथास्थितिको आडमा टाँसिएको तत्कालीन राणा सरकारले ठूलै धक्का महसुस ग¥यो र आन्दोलनका अगुवाहरूलाई जेलमा कोच्यो तर उनीहरूले जेलमै विद्रोह गरे । आखिर बिनाशर्त जेलमुक्त गर्न सरकार वाध्य हुनु पनि प¥यो ।
यो आन्दोलनको लहर छिमेकी जिल्लाहरू तनहुँ, कास्की, गोरखा, धादिङ, गुल्मी, अर्घाखाँची आदि हुँदै पश्चिम नेपालभर फैलिन गयो । दुराडाँडामा शुरु गरिएको हलोक्रान्तीलाई त्यसलगत्तै हालको मध्यनेपाल नगरपालिका–७ चिसंकु लमजुङमा डिठ्ठा श्रीप्रसाद घिमिरेले अनुशरण गर्नुभयो । तनहुँको भानु नगरपालिका चुँदी टुहुरे पसलमा रामप्रसाद, उमाभद्र खनालसहितका मानिसहरुले हलो जोते । गोरखामा पूर्णप्रसाद ब्राम्हण र भवनाथ कट्टेलहरुले हलो जोत्न थाले । यसरी नै कास्कीमा ऋषि केशव पराजुली, मुक्तिनाथ तिमिल्सिना र देवबहादुर भारी तथा स्याङ्जामा साहु गेजा शर्मा, अर्घखाँचीमा काशीनाथ गौतम, धादिङमा देवीप्रसाद पौडेल, रामेछाप दुम्जामा गोविन्द कोइरालालगायतको सक्रियतामा ब्राम्हणहरुको हलोजोत क्रान्तिको तरङ्ग फैलिँदै गएको थियो । राणाशासनको जग यसै अभियानले हल्लायो । एकतन्त्रीय हुकुमी शासनका विरुद्धमा जनमत तयार बन्दै गयो र सार्थक पनि बन्न गयो ।
समाजलाई यसरी अग्रगमनको दिशामा हिँडाउन तत्कालीन घोर अन्धकारमय समाजमा मिर्मिरे उज्यालो ल्याउन लागेका सम्पूर्ण योद्धाहरू पुजनीय छन्, वन्दनीय छन् । यस आन्दोलनको विचार–बीज नै पं. तोयानाथ अधिकारी थिए भने बीज उमार्नका लागि वातावरण तयार पार्ने मुख्य नायकहरू ले. शेषकान्त, मु. हरिभक्त, श्रीकान्त लगायत सबै उत्तिकै पूजनीय र वन्दनीय छन् । वास्तवमा भन्ने हो भने यी योद्धाहरू हाम्रो समाजका विभूति हुन् । सरकारले निष्पक्ष ढङ्गले मूल्याङ्कन गरी हलो आन्दोलन जस्ता समाजिक अग्रगामी आन्दोलनलाई पाठ्यक्रममा समेत राखेर सामाजिक शिक्षा दिलाउनु अत्यावश्यक देखिन्छ । सिर्जनात्मक ढङ्गले प्रगतिवादी सोच लिएर समाज परिवर्तनका लागि अमूल्य योगदान पुर्‍याउने सामाजिक अभियन्ताहरूलाई राष्ट्रिय विभूति घोषणागरी सम्मान प्रकट गर्न राज्य चुक्नु हुँदैन । के नेता के जनता व्यक्तिगत तुच्छ स्वार्थ त्यागेर समाज उत्थानमा लाग्न हलो आन्दोलन दिवसले हामी सबैलाई प्रेरणा देओस् । अस्तु । (लेखक मस्याङ्दी वाङ्मय प्रतिष्ठानका अध्यक्ष हुनुहुन्छ)  रासस