२०८१ मंसिर ११ , मंगलबार

सहकारीको रकम अपचलन गरेर विदेश भागेकालाई स्वदेश फर्काउन गृहमन्त्रीलाई निर्देशन

Capture

सुनाखरी न्युज / काठमाडौं ।

सहकारी छानबिन संसदीय समितिले सहकारीको रकम अपचलन गरी देश बाहिर भागेका १८ जनालाई तत्काल स्वदेश फर्काउन सरकारलाई निर्देशन दिएको छ ।समितिको सोमबार बसेको बैठकले सहारा, सूर्यदर्शन लगायतका सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लागेका जीबी राईलाई तत्काल स्वदेश फर्काउन निर्देशन दिएको हो ।

सूर्यदर्शनका ज्ञानबहादुर बम्जन, थानबहादुर राई, भुपेन्द्र राई, सानोपाइलाका तस्विरन खातुन र अश्रफ अली, सहारा तथा सुप्रिमका सुवास केसीलाई पनि झिकाउन भनिएको छ ।यस्तै सुमेरु सहकारीको रकम अपचमलनमा संलग्न भएको आरो लागेका भरत महर्जन, उनको श्रीमती माजमाया, छोरा सचिन र छोरी सरलालाई पनि तत्काल नेपाल ल्याउन भनिएको छ ।

शिवशिखरका तेजबहादुर बम्जन तामाङ, इमेज सहकारीका अध्यक्ष देवकुमार नेपाली र उनकी श्रीमती छेदा, व्यवस्थापक दिपक पौडेल, शिवशिखर सहकारीका लीलानाथ गौतम, कान्तिपुर सेभिङका प्रेमध्वज लामा र मेघाड्रिमका महाशंकर रेग्मीलाई पनि स्वदेश फर्काउन र छानबिन समितिको दायरामा ल्याउन गृहमन्त्रीलाई निर्देशन दिएको छ ।

बैठकपछि सभापति सूर्यबहादुर थापाले भने, ‘कारागार र थुनामा रहेका केही व्यक्तिका हकमा सोधपुछ गर्दैछौँ । सोधपुछका लागि जनशक्ति र समयको प्रबन्ध गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।’समितिले सहकारीको मुद्दामा थुना वा प्रहरी हिरासतमा रहेका २४ जनासँग सोधपुछ गर्ने निर्णय गरेको छ ।भोलि बस्ने समितिको बैठकमा सकारात्मक ढंगले सञ्चालन भइरहेका सहकारी सञ्चालकहरुलाई छलफलका लागि बोलाएको छ ।