सुनाखरी न्युज/ काठमाडौं ।
नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले डेडिकेटेड र ट्रङ्क लाइन महशुल उठाउन छोडेर अनावश्यक तर्क गरिएकामा आपत्ति प्रकट गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै पूर्वऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रीसमेत रहनुभएका सांसद बस्नेतले संसद्को सार्वजनिक लेखा समितिमा पछिल्ला दिनमा भइरहेको बहस तर्कसङ्गत नभएको बताउनुभयो ।
महशुल उठाउन पाइँदैन भनेर नेपाल विद्युत् प्राधिकरणलाई भृकुटी कागज कारखाना बनाउन खोजिएको हो ? भन्ने प्रश्न गर्दै सांसद बस्नेतले पटक पटक अदालतले आदेश दिएको र विभिन्न निकायले निर्णय गरेका आधारमा थप छुट महशुल उठाउन खोजिएको बताउनुभयो । उहाँले लोडसेडिङको समयमा २० घण्टाभन्दा बढी बिजुली प्रयोग गर्ने उद्योगले थप महशुल तिर्नुपर्छ भन्ने सामान्य विषयलाई नजरअन्दाज नगर्न र छुट नदिन आग्रह गर्नुभयो । सांसद बस्नेतले सरकारमा बसेर प्रश्न मात्रै गर्ने तर कुनै निष्कर्ष नदिने छुट कसैलाई नभएको स्पष्ट पार्नुभयो ।
प्राधिकरणको सञ्चालक समितिको बैठकमा फरक मत राखेका आधारमा सञ्चालक समितिका सदस्यहरुलाई कारवाही गरिएकामा सांसद बस्नेतले गुनासो गर्नुभयो । “सरकारले कुन आदेश ग¥यो र कुन आदेश सञ्चालक समिति सदस्यले उल्लङ्घन गरे ? फरक मत राखेको आधारमा कारवाही गर्दैजाने हो भने लोकतन्त्रको योभन्दा मजाक अरु हुनै सक्दैन”, उहाँले भन्नुभयो । संविधान संशोधनको विषय गलत मनसायका साथ आएको सांसद बस्नेतको आरोप थियो ।
अर्थतन्त्रका सूचक सकारात्मक देखिँदै गएका छन्:सांसद गैरे
नेकपा (एमाले) का सांसद ठाकुरप्रसाद गैरेले वर्तमान सरकार गठन भएपछि मुलुकको अर्थतन्त्रका सूचक सकारात्मक देखिँदै गएका बताउनुभएको छ । उहाँले संविधान कार्यान्वयनमा देखिएका कमी कमजोरीलाई सुधार गरेर जाने भनेर प्रमुख दुई दलबीच भएको सहमतिलाई पूर्णता दिन सकिए थप आशाको सञ्चार हुने बताउनुभयो ।
संविधान संशोधन कुनै पनि अर्थमा प्रतिगमन हुन नसक्ने तर्क गर्दै सांसद गैरेले यथास्थितिमा रहनुपर्छ, कुनै सुधार गर्नुहुन्न भन्ने मतलाई भने गलत मान्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले देशव्यापी रुपमा मनसुनका कारण सडक सञ्जालमा क्षति पुगेकाले त्यसको मर्मत सम्भारमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभयो । सार्वजनिक सवारी साधनको सहज प्रबन्ध गर्न सकिए नजिकिँदो चाडपर्वमा नागरिकले सहजरुपमा यात्रा गर्न सक्ने वातावरण बन्ने उहाँको भनाइ थियो ।
दुग्ध किसानले मूल्य नपाएको, रासायनिक मल नपाएको अवस्था अन्त्य गरेर कृषि क्षेत्रलाई सबल र सक्षम बनाउनुपर्नेमा सांसद गैरेले जोड दिनुभयो । खाद्यान्न आयात गुर्नपर्ने अवस्था अन्त्य गर्न सबैको सार्थक पहल हुनुपर्ने र कृषि क्षेत्रको औद्योगिकरण गर्नुपर्ने उहाँको भनाइ थियो । सांसद गैरेले वैदेशिक रोजगारीको क्षेत्रमा देखिएको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउँदै असुरक्षित रहेका देशमा पुनः कामदार पठाउन लागिएको भनेर सार्वजनिक भएका विषयको सत्य तथ्य के हो भन्दै प्रश्न गर्नुभयो ।मुलुकभित्र समस्याका रुपमा रहेको आर्थिक अनियमितता, भ्रष्टाचारको नियन्त्रणका लागि सरकारले कडा कदम चाल्नुपर्ने उहाँले बताउनुभयो । प्रमुख प्रतिपक्षी दलले कोही कसैमाथि छानबनि नै गर्न पाइँदैन भनेर गरेको तर्क यर्थाथसँग मिल्दो नभएको सांसद गैरेको धारणा थियो । रासस