२०८१ मंसिर १० , सोमवार

डेडिकेटेड ट्रंक लाइन विवाद: अनावश्यक कागज प्राधिकरणलाई फिर्ता गर्दै लेखा समिति

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

सार्वजनिक लेखा समितिले माग गरेबाहेकका अनावश्यक कागजपत्र पठाएपछि समितिले नेपाल विद्युत प्राधिकरणलाई नै फिर्ता पठाउने भएको छ।समितिले टिओडी मिटरको विवरण पठाउन प्राधिकरणलाई निर्देशन दिएको थियो। बिहीबार प्राधिकरणले झन्डै एक लाख पेज विभिन्न किसिमका कागजपत्रहरू पठाएको थियो।

जसमा टिओडीको विवरण तीन पोका र अरू माग्दै नमागेको काजगात २१ पोका आएको समितिले जनाएको छ।हिजो प्राधिकरणले कार्यालय समयको अन्तिममा पठाएका कारण चेकजाँच गर्न नपाएको र आज चेकजाँच गर्दा अनावश्यक कागजात भेटिएपछि फिर्ता गर्न लागिएको समितिले जनाएको छ। टिओडी मिटरको प्रमाण भने सबै नपठाइएको समितिका अधिकारीले बताए।

लोडसेडिङको समयमा उद्योगहरूलाई अतिरिक्त विद्युत उपलब्ध गराइएको र त्यस्ता ६१ उद्योगले प्रिमियम शुल्क उपलब्ध नगराएको उल्लेख गरिएको थियो। यी मध्ये पछिल्लो समय चार साना उद्योगले प्रिमियम शुल्क उपलब्ध गराइसकेको प्राधिकरणले जनाएको छ। केही ठूला उद्योगीहरूले भने प्राधिकरणले फर्जी बिल थमाएको भन्दै यस्तो रकम तिर्न नै अस्वीकार गर्दै आएका छन्।