२०८१ मंसिर ९ , आइतवार

पाकिस्तान–अफगानिस्तान सीमाक्षेत्रमा भएको झडपमा तीनजनाको मृत्यु भएको तालिबानको दाबी

Death-body-900px

सुनाखरी न्युज/ काठमाडौं ।

तालिबान अधिकारीहरूले मङ्गलबार उत्तरी सीमामा भएको झडपमा पाकिस्तानी सेनाले एक महिला र दुई बच्चासहित तीन जना सर्वसाधारणको हत्या गरेको आरोप लगाएका छन् ।अफगानिस्तानको नङ्गरहार प्रान्तको तोरखाम सीमा नजिकै सोमबार दुई देशबीच झडप भएको हो ।सन् १८९६ मा बेलायतीहरुले कायम गरेको काबुलद्वारा विवादित २४०० किलोमिटर सीमा क्षेत्रमा कोरिएको डुरान्ड रेखा नजिकै चेकपोष्ट निर्माणलाई लिएर पाकिस्तान र अफगानिस्तानका सेनाबीच नियमित झडप भइरहेको छ ।

“पाकिस्तानी सेनाले सर्वसाधारणको घरलाई निशाना बनाएर आक्रमण गर्दा एक महिला र दुई बच्चाको हत्या गरेको छ”, आन्तरिक मन्त्रालयका प्रवक्ता अब्दुल मतीन कानीले मङ्गलबार सामाजिक सञ्जाल एक्समार्फत भन्नुभयो ।अफगानिस्तानको रक्षा मन्त्रालयका प्रवक्ता इनायतुल्ला ख्वाराजमीले भन्नुभयो,“यो झडप पाकिस्तानीहरूले सुरु गरेका हुन् । जब हाम्रो सेनाले तोरखाम सीमामा रहेको काल्पनिक डुरान्ड रेखामा चौकी निर्माण गर्ने प्रयास गरिरहेको थियो तब पाकिस्तानी सैनिकहरूले हाम्रो सेनामाथि गोली प्रहार गरेका हुन् र हाम्रो सेनाले उक्त प्रहारको जबाफ दिँदा यो झडप भएको हो ।”

तोरखाममा पाकिस्तानतर्फका एकजना सीमा अधिकारीले झडपमा तीनजना पाकिस्तानी सैनिक घाइते भएको बताउनुभयो ।पाकिस्तानी अधिकारीहरूले तीनजना अफगानी नागरिक मारिएको आरोपमाथि कुनै प्रतिक्रिया दिएका छैनन् ।सन् २०२१ मा तालिबान सरकारले सत्ता कब्जा गरेपछि दुई देशबीचको सीमा तनाव निरन्तर बढेको छ ।झडपमा दुवै पक्षबाट भारी हतियार प्रयोग भएको र तोरखाम सीमा बन्द गरिएको पाकिस्तानी अधिकारीले बताएका छन् ।  रासस/एएफपी