२०८१ मंसिर १ , शनिवार

आज विश्वासको मत लिँदै सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह

Kamal-bahadur-Shaha

सुनाखरी न्युज/ काठमाडौं ।
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले बुधबार सदनबाट विश्वासको मत लिने भएका छन्। सुदूरपश्चिम प्रदेश सभाको मंगलबार बसेको  पाँचौं अधिवेशनको दोस्रो बैठकमा सभामुख भीम भण्डारीले सो कुरा जानकारी दिएका हुन्।

उनले मुख्यमन्त्री शाहबाट विश्वासको मत लिने प्रयोजनका लागि सभाको व्यवस्थापन गरिदिनुहोला भन्दै पत्र आएको सदनलाई जानकारी गराएका थिए। बुधबार दिउँसो ३ बजे शाहले विश्वासको मत लिने छन्। तबसम्मका लागि संसद बैठक स्थगित भएको छ।

मंगलबारकै प्रदेश सभा बैठकमा सुदूरपश्चिम प्रदेश सामूहिक राजस्व संकलन सम्बन्धी अध्यादेश बहुमतले पारित भएको छ।

अघिल्लो बैठकमा टेबल भएको अध्यादेश अस्वीकार गरियोस् भन्ने सूचना प्राप्त नभएको जानकारी सभामुख भण्डारीले गराएका थिए। त्यसपछि आर्थिक मामिला मन्त्री बहादुरसिंह थापाले सो अध्यादेश स्वीकृत गरियोस् भनी राखेको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो।