२०८१ मंसिर ९ , आइतवार

भारतका प्रधानमन्त्री मोदी र उहाँका मलेसियाली समकक्षी इब्राहिमबीच भेटवार्ता

narendra modi

सुनाखरी न्युज/ काठमाडौं ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उहाँका मलेसियाली समकक्षी अनवर इब्राहिमबीच मङ्गलबार भेटवार्ता भएको छ ।हैदरावाद हाउसमा भएको भेटका क्रममा भारत र मलेसियाबीच साझेदारीका विभिन्न क्षेत्रमा संलग्नतालाई अझ प्रगाढ बनाउन दुई नेताबीच छलफल भएको बताइएको छ ।“साझेदारी रूपान्तरणका लागि प्रधानमन्त्री नरेन्द्र मोदीले उहाँका मलेसियाली समकक्षी अनवर इब्राहिमलाई हैदरावाद हाउसमा न्यानो स्वागत गर्नुभयो,” विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले एक्समा लेख्नुभएको छ ।

उहाँले अगाडि लेख्नुभएको छ, “विभिन्न क्षेत्रमा साझेदारीका संलग्नतालाई अझ प्रगाढ बनाउन र सहकार्यका नयाँ क्षेत्रहरूको खोजी गर्न छलफल अगाडि बढेको छ ।”यसअघि राष्ट्रपति भवनमा प्रधानमन्त्री मोदीले अनवर इब्राहिमलाई औपचारिकरूपमा स्वागत गर्नुभएको थियो ।मलेसियाली प्रधानमन्त्रीका रूपमा पहिलो पटक भारत भ्रमणमा आएका इब्राहिम आजै राजधानी नयाँदिल्ली आइपुग्नुभएको हो ।

इब्राहिमले राजघाटमा राखिएको आगन्तुक पुस्तिकामा हस्ताक्षर गरेपछि पत्रकारसँग बोल्दै भन्नुभयो, “मलेसिया र भारतबीचको सम्बन्ध लामो समयदेखि दुवै मित्र राष्ट्र र त्यहाँका जनताका लागि लाभदायक रहँदै आएको छ ।”उहाँले भन्नुभयो, “निश्चित रूपमा, हाम्रो छलफलले दुई देशहरूबीचको घनिष्ठ सहयोगको पक्षलाई जोड दिनेछ साथै यस मैत्रीपूर्ण सम्बन्धलाई बलियो बनाउन सक्ने अन्य क्षेत्रहरूको खोजी गर्नेछ ।”

मलेसियाका प्रधानमन्त्री इब्राहिमले थप्नुभयो, “भारत र मलेसियाबीच ऐतिहासिक र सामाजिक–सांस्कृतिक सम्बन्ध प्रगाढ छ । भारतको नयाँदिल्लीस्थित राष्ट्रपति भवन, त्यहाँ आयोजित औपचारिक स्वागत समारोहबाट मलाई सम्मानित गरिएको छ ।”सन् २०१५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका क्रममा द्विपक्षीय सम्बन्धलाई उन्नत रणनीतिक साझेदारीको तहमा पु¥याइएको उहाँले स्मरण गर्नुभयो ।  रासस/एएफपी