२०८१ मंसिर ९ , आइतवार

भिरबाट खसेको ढुंगा लागेर मुग्लिन-नारायणगढ खण्डमा बस पल्टियो

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

चितवनको मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका २९ सत्रकिलोमा माथिबाट ढुंगा खसेर लाग्दा यात्रु बस दुर्घटना भएको छ ।रौतहटको गौरबाट पोखरा जाँदै गरेको ग २ ख ४७ नम्बरको बस माथि आज दिउँसो १:५० बजेतिर ढुंगा खसेको थियो । त्यसपछि चालक आत्तिएर बस अनियन्त्रित भएर सडकमै पल्टिएको मुग्लिन प्रहरी प्रमुख इन्सपेक्टर निरला भण्डारीले जानकारी दिइन् ।यता, चितवन प्रहरीका अनुसार बस दर्घटनामा परी २५ जना यात्रुहरू घाइते भएका छन् ।

घाइते हुनेहरूमा बारा निजगढ-८का २६ वर्षीया सबिना थापा, रौतहट चपुर-८ का ४६ वर्षीय जनक नारायण चौधरी र उनका छोरा १८ वर्षीय इनद्रजित चौधरी, रौतहट गौर-२ का १७ वर्षीया सन्ध्या साह, चितवन भरतपुर महानगर-२९ बस्‍ने २७ वर्षीया पूजा न्यौपाने, भरतपुर-२९ कै ४८ वर्षीया मनरूपा न्यौपाने र कास्कीको पोखरा महानगर-१७ का ४० वर्षीया सावित्री थापा मगर रहेका छन् । उनीहरूको भरतपुरस्थित सरकारी अस्पतालमा उपचार भइरहेको छ ।

उनीहरूको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ। बसमा ३५ जना यात्रु भएको अनुमान गरिएको छ। ढुंगा लागेर बसमा क्षति पुगेको छ। पल्टिएको बस अहिले पनि घटनास्थलमै छ । सडक भने सुचारू गराइएको छ ।