सुनाखरी न्युज/ काठमाडौं ।
बादशाह कुर्मीलाई मन्त्री बनाएको विरोधमा काठमाडौंमा प्रदर्शन गरिएको छ। बाँकेकी निर्मलादेवी कुर्मीको हत्या आरोपी बादशाह कुर्मीलाई लुम्बिनीमा नेपाली कांग्रेसले मन्त्री बनाएको विरोधमा काठमाडौंको माइतीघर मण्डलदेखि बालुवाटारसम्म खाली खुट्टा हिँडेर प्रदर्शन गरिएको हो।
साउन २५ गतेदेखि कंकलीदेखि माइतीघरसम्म हिँडेर आएर धर्ना बसेका थिए।तीन सातादेखिको धर्नामा सरकारले चासो नदेखाएपछि आइतबार माइतीघर मण्डलदेखि बालुवाटारसम्म खालीखुट्टा हिँडेर प्रदर्शन गरिएको बताए।
यसअघि गृह मन्त्रालय र पीडित परिवारबीच कुर्मीको मुद्दा अदालत पठाउन सहमति भएपछि आन्दोलन फिर्ता भएको थियो। तर मुख्य आरोपीलाई नै प्रदेशको मन्त्री नियुक्त गरेपछि सत्ताधारी पार्टीले पीडकलाई संरक्षण गरिरहेको उनीहरूको आरोप छ।उनीहरूले बादशाह कुर्मीलाई मन्त्री पदबाट हटाउनुपर्ने, निर्मला कुर्मी हत्या मुद्दा तत्काल अदालत पुर्याउनुपर्ने र आन्दोलनकारीहरूको सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने माग छ।