२०८१ आश्विन ३ , बिहिवार

यसपटकको संविधान दिवसमा कैदीबन्दीहरु नछुट्ने

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

यसपटकको संविधान दिवसमा असल चालचलन भएका र कानुनले तोकेको कैद भुक्तान गरेका कैदीबन्दीहरु नछुट्ने भएका छन् । कारागार व्यवस्थापन विभागले सिफारिस गरे पनि गृह मन्त्रालयले कैदी रिहा गर्ने प्रस्ताव मन्त्रिपरिषद्‌मा पठाएको छैन ।गृह मन्त्रालयले गृहकार्य नपुगेको भन्दै निर्णय नगरेकाले भोलि कैदीबन्दी छुट्ने अवस्था नरहेको कारागार व्यवस्थापन विभागका सूचना अधिकारी रामबहादुर सार्की बताए । ‘कैदी बन्दीको विवरण हामीले दुई पटक मन्त्रालयमा पठाइसकेका छौं ।

तर गृहबाट निर्णय हुन बाँकी भन्ने जानकारी आएकाले भोलि छुट्ने सम्भावना छैन’, उनले भने । जेठ १५ मा ६०१ जनालाई कैद कट्टा गर्न विभागले सिफारिस गरेको थियो । सिफारिस भएका कुल १ हजार ९३ जनाबारे गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्ने कानुन व्यवस्था छ । त्यसबारे निर्णय भएपछि उनीहरू रिहा हुन्छन् ।

फौजदारी कसुर सजाय निर्धारण ऐन आएपछि ५० प्रतिशत कैद भुक्तान गरेका र नकारात्मक सूचीमा नपरेकाहरूको कैद कट्टा गरिन्छ ।जन्मकैद पाएका र लागुऔषध मुद्दामा जेल परेकाहरूले कैद छुट पाउँदैनन् । यसबारे विभागले सार्वजनिक सूचना पनि जारी गरेको थियो ।