२०८१ आश्विन ६ , आइतवार

सामाजिक सङ्घसंस्थाका काम कारबाही पारदर्शी बनाउनुपर्छ मन्त्री सुडी

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले सामाजिक सङ्घसंस्थाका कामकारबाही प्रष्ट र पारदर्शी बनाउनुपर्छ भन्नेमा जोड दिनुभएको छ ।‘सुशासन र समृद्ध नेपाल, राष्ट्रिय सोचाइ, दिगो सामाजिक विकास, सङ्घसंस्थाको रोजाइ’ भन्ने नाराका साथ समाज कल्याण परिषद्द्वारा आज यहाँ आयोजित ४५औँ सामाजिक सेवा दिवस समारोहमा उहाँले सामाजिक सङ्घसंस्था समाजप्रति उत्तरदायी हुनेहुँदा प्रभावकारी र पारदर्शी हुनुपर्ने बताउनुभयो ।

“समाजसेवीप्रति समाजको मर्यादा र प्रतिष्ठा विकसित हुन सकोस्, पछि परेका वर्गको हित, पछि परेको समुदायको कल्याणमा समाजसेवीको ध्यान जान सकोस्, तनमन लगाएर समाजमा पछाडि परेकाहरुको उत्थानमा सबै दत्तचित्त भएर सेवा गर्न सकौँ”, उहाँले भन्नुभयो ।उहाँले समाजकल्याण परिषद्बाट हुने अनुगमन र मूल्याङ्कनलाई अझ वैज्ञानिक र प्रभावकारी बनाइनुपर्नेमा जोड दिनुभयो ।“समाजकल्याण ऐनलाई समयसापेक्ष परिमार्जन र संशोधन गर्दै एकद्वार नीतिअनुसार अगाडि बढाउन सरकार लाग्नेछ”, उहाँले भन्नुभयो ।

परिषद् उपाध्यक्ष नन्दलाल माझीले गैरसरकारी संस्था, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र सरकार मिलेर काम गर्नुपर्ने बताउनुभयो । परिषद्का सदस्य सचिव मनोज भट्टले आर्थिक वर्ष २०८०/८१ मा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थासँग ४४ वटा परियोजनासँग सम्झौता भई रु २१ अर्ब ५८ करोड १८ लाख ५३ हजार छ सय ६३ को प्रगति हासिल भएको जानकारी गराउनुभयो ।

उक्त आवमा रु १२ करोड ७१ लाख आम्दानी अपेक्षा गरिएकामा रु १७ करोड चार लाख आम्दानी भएको उहाँले जानकारी गराउनुभयो ।लोकतान्त्रिक गैरसरकारी संस्था महासङ्घमा अध्यक्ष रमेश धमलाले समाजकल्याण परिषद् एउटा सानो कोठाभित्र मात्रै सीमित हुन नहुने बताउनुभयो ।  रासस