२०८१ आश्विन ७ , सोमवार

लम्बिने भयो मनसुन,दसैंसम्मै पानी पर्न सक्ने

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

यसपालि मनसुन लम्बिने भएको छ।मनसुन लम्बिएर दसैंसम्मै वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।महाशाखाकी वरिष्ठ मौसमविद् प्रतीभा मानन्धरले मनसुन बाहिरिने सरदर मितिभन्दा पाँच दिन पर धकेलिने सम्भावना देखिएको बताइन्।

नेपालमा सामान्यतया अक्टोबर दुई तारिख (असोज १६) मा मनसुन बाहिरिने गर्छ। यसपटक लम्बिएर असोज २१ गतेसम्मै पुग्ने पूर्वानुमान गरिएको हो।‘सामान्यतया मनसुन भित्रिने र बाहिरिने मितिमा चार–पाँच दिन तलमाथि हुन्छ। यसपटक सरदर मितिभन्दा पाँच दिन पर धकेलिने देखिएको छ,’ मानन्धरले भनिन्।यस वर्ष सरदर (जुन १३) भन्दा तीन दिन छिटो (जेठ २८) मा मनसुन नेपाल प्रवेश गरेको थियो। नेपालभर फैलन भने असार १० सम्मै लागेको थियो।

यसपालि पश्चिम भारत (राजस्थान) बाटै मनसुन बाहिरिन ढिला भएकाले नेपालमा मनसुनी वायुको प्रभाव लम्बिने देखिएको मानन्धरले बताइन्। ‘भारतले पश्चिमी भूभागबाट मनसुन बाहिरिएको घोषणा गरिसकेको छैन। त्यसपछि बल्ल हामीकहाँ मनसुन बाहिरिन्छ,’ उनले भनिन्।भारतमा राजस्थानबाट मनसुन बाहिरिने प्रक्रिया सुरू हुन्छ। हामीकहाँ पनि नेपालको सुदूरपश्चिमको भू-भागबाट मनसुन बाहिरिने क्रम सुरू हुन्छ।२०७० सालमा कात्तिक २ (२०१३ अक्टोबर १९) गते मनसुन बाहिरिएको थियो।

वरिष्ठ मौसमविद् मानन्धरले आइतबार र सोमबार पहाडी भेगमा आंशिक बदली रहने र बाँकी भागमा मौसम सफा देखिएको बताइन्। मंगलबारदेखि भने धेरै भू-भागमा बदलीको सम्भावना छ। कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका पहाडी भूभागमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम प्रकृतिको वर्षा हुने सम्भावना रहेको उनले बताइन्।

‘भोलिदेखि शुक्रबार, शनिबारसम्मै बदलीको सम्भावना छ। हल्कादेखि मध्यम वर्षा हुनेछ। यसबीचमा ठूलो वर्षाको सम्भावना भने देखिँदैन,’ उनले भनिन्।त्रिभुवन विश्वविद्यालय, जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक विनोद पोखरेलले पनि यसपटक हिले दसैं हुने सम्भावना रहेको बताएका छन्।उनले पनि आइतबार र सोमबार काठमाडौं उपत्यकासहित देशका अधिकांश भूभागको मौसम सफा रहेता पनि मंगलबारदेखि पानी पर्ने बताएका छन्। यो क्रम दसैंसम्मै रहने उनले बताए।‘आइतबार र सोमबार मध्यपहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। मंगलबारदेखि दसैंसम्म पानी पर्ने मौसम छ,’ उनले पूर्वानुमान गर्दै भनेका छन्।