२०८१ आश्विन ८ , मंगलबार

‘जलवायु अनुकूलन अबको जीवन पद्धति’

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जलवायु अनुकूलनको विषय अब जीवन पद्धतिसँग जोडिएको बताउनुभएको छ ।संसार नै जलवायु परिवर्तनको असरले प्रभावित भइरहेका बेला अब चराचर प्राणीजगत्को जीवनका लागि जलवायु अनुकूलनतिर अग्रसर हुन अपरिहार्य बनेको उहाँले उल्लेख गर्नुभयो । सिंहले बर्दिबासमा विभिन्न १४ वटा सामाजिक सङ्घसंस्थाले आज आयोजना गरेको ‘स्थानीय नेतृत्वमा आधारित जलवायु अनुकूलन’ छैटौँ राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नुभयो ।

जलवायु परिवर्तनका नकारात्मक असर घटाउँदै लान यो परिस्थितिभित्रबाटै सकारात्मक पहलकदमी आवश्यक रहेको उहाँको भनाइ छ । विषादीरहित प्राङ्गारिक खेतीपाती, सन्तुलित आहारविहार, प्रकृति संरक्षण र वातावरणीय सन्तुलनका लागि सघन वृक्षारोपणजस्ता विषय जलवायु अनुकूलनसँग जोडिएका हुँदा यसको अनुुसरण अनिवार्य बनेको मुख्यमन्त्री सिंहले स्पष्ट पार्नुभयो ।

जलवायु अनुकूलन सचेतना मधेसका बस्तीबस्तीमा पु¥याउन स्थानीय तह र सामाजिक सङ्घसंस्थाको नेतृत्वदायी भूमिका हुनपर्ने सिंहको भनाइ छ । मधेस प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१/८२ मा एक करोड नयाँ बिरुवा रोपिने अभियान थालेको बताउनुभयो । अब गरिने वृक्षरोपण माटो जाँच र रोपिने बिरुवाको वातावरणीय विशेषता निर्क्यौल गरेर मात्र रोप्नुपर्ने उहाँको भनाइ छ ।

सम्मेलनमा जलवायु अनुकूलनसँग जोडिएका गरिबी र असमानतालाई सम्बोधन गर्न अनुकूलन क्रियाकलापको प्रभावकारिता, अनुकूलन क्रियाकलापलाई बढावा दिन नीतिगत वातावरण निर्माण र स्थानीय अनुकूलन क्रियाकलापको विश्वव्यापी लक्ष्यबारे घनिभूत छलफल गरिएको सामुदायिक विकास तथा पैरवी मञ्च नेपालका अध्यक्ष नागदेव यादवले जानकारी दिनुभयो ।सम्मेलनबाट जलवायु अनुकूलनसम्बन्धी विषयवस्तुबारे थप जानकारी प्राप्त गरेको बर्दिबास नगरपालिकाका उपप्रमुख तारादेवी महतोले बताउनुभयो । सम्मेलनमा जलवायु अनुकूलन खेती अँगाल्दै आएका कोशी र बागमती प्रदेशका किसान समूह पनि सहभागी छन् ।  रासस